फेरि नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले २३ साउनमा नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा शिक्षा लिएका दुईजनालाई पक्राउ गरेको छ ।
सिआईबी, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यामिक शिक्षा परिषद्को संयुक्त टोलीको अभियान ‘अप्रेशन क्वाक’ अन्तर्गत फर्जाना सविहालाई ललितपुर र किशोर गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
सर्लाहि, मलगंवा–३ घर भई हाल कुपण्डोल बस्ने फर्जानाले मिडाट अस्पताल लगनखेलमा र सुनसरी, धरान–१० घर भई हाल स्वयम्भू सानो भर्याङ बस्ने गुरुङ शिवपुरी डेन्टल क्लिनिक महाराजगञ्जमा काम गर्दैै आएका थिए ।
पक्राउ परेका दुवै जनाले मेडिकल काउन्सिलबाट चिकित्सा पेशा गर्न आवश्यक लाइसेन्स समेत लिएका छन् । दुबैले पेश गरेको भारत, बिहारको आइएस्सी तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको प्रहरीले जनाएको छ ।
फर्जाना र गुरुङलाई जिल्ला अदालत काठमाण्डौबाट ठगी मुद्दामा अनुसन्धानका लागि म्याद थप भएको सिआईबीका प्रवक्ता दिवेश लोहनीले बताए ।