हेमन्तप्रकाशलाई ३ दिनभित्र उपस्थित गराउन सर्वोच्चकाे आदेश
सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका प्रतिबन्धित नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई तीन दिनभित्र हाजिर गराउन सरकारका नाममा निर्देशन जारी गरेको छ ।
वली पक्राउ परेपछि छोरी विपना वलीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
रिटमा प्रारम्भिक सुुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
विप्लव समूहका मध्य कमाण्ड इञ्चार्ज वली ९ चैत शनिबार काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ परेका थिए ।
उनीसहित ९ जनालाई बा१७च ४८९३ नम्बरको स्कर्पियो जीपबाट काठमाडौं आउँदै गर्दा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । जीपमा हतियारसमेत भेटिएको सुरक्षा संयन्त्रको दाबी छ ।
वलीमाथि संगठित अपराध मुद्दामा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट ८ दिनको म्याद लिएको छ ।
यसअघि नेता वलीसहित ९ जनालाई प्रहरीले आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
अदालतले सबैलाई हिरासतमै राखी अनुसन्धान गर्न थप ८ दिनका लागि म्याद थप गरेको थियो ।
वलीसहित ९ जनाविरुद्ध संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार र खरखजाना र बम विस्फोटको मुद्दा लगाइएको थियो ।
मुद्दा लगाइएकाहरूमा गिरफ्तार केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्यूरो इन्चार्ज विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्का छन् ।