मनमोहन अस्पतालको आकस्मिक कक्षमा अज्ञात समूहद्वारा तोडफोड, आकस्मिक सेवा बन्द
काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा गए राति तोडफोड भएको छ।
अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै अज्ञात समूहले गए राति नौ बजे २०/३० जनाको समूहमा रहेका व्यक्तिहरुले गुन्डागर्दी शैलीमा आकस्मिक कक्षमा भिडन्त गर्दा तोडफोड भएको जनाएको हो। तोडफोडको घटनाको अहिलेसम्म कारण नखुलेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार, उक्त समूहले अर्का पक्षका घाइतेलाई गम्भीर घाइते हुने गरी उनलाई आक्रमण गर्दा आकस्मिक कक्ष रक्ताम्य भएको थियो।
अज्ञात समूहले आकस्मिक कक्षमा काम गर्ने चिकित्सक, नर्स, प्यारामेडिक्स र सुरक्षा गार्डलाई समेत हातपात गरेका थिए। उनीहरुले आकस्मिक कक्षको इसीजी मेशिन, ड्रेसिङ ड्रम, बस्ने टुल, टिचल फोर्बेस, एम्बु ब्यागसहितका सामग्री तोडफोड गरेर क्षति पुर्याएको अस्पताल प्रशासनले विज्ञप्तिमा जनाएको छ।
अस्पतालले उक्त घटनापछि आकस्मिक कक्षका उपकरणमा क्षति पुगेकाले आकस्मिक सेवा बन्द गरेको जनाएको छ। यद्यपि आकस्मिक र अन्य कक्षमा उपचाररत बिरामीलाई आवश्यक उपचारको व्यवस्था मिलाइएको अस्पतालको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “यस खालका आपराधिक समूहमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानूनी कठघरामा उभ्याई कडाभन्दा कडा सजाय दिलाउन गृह मन्त्रालय, प्रहरी प्रशासनसँग यस अस्पताल हार्दिक आह्वान गर्छ।"
अस्पतालका निर्देशक डा. धर्मदत्त सुवेदीका अनुसार, उक्त घटनापछि स्वयम्भू प्रहरीले तोडफोडमा संलग्न भएको आंशकामा तीन जनालाई पक्राउ गरेको छ। भिडन्तका क्रममा घाइते भएका चार जनाको अस्पतालमै उपचार भइरहेको उनले बताए।