मुस्ताङमा सुख्खा पहिरो, आठ घर उच्च जोखिममा
-ध्रुवसागर शर्मा
हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका– १ छैरोमा शनिवार राती २ बजे सुख्खा पहिरो गएको छ ।
तिब्बति शिविरनजिकै गएको पहिरोले स्वास्थ्य चौकी, तीन वटा सार्वजनिक शौचालय, स्नान घर र गाई गोठ बगाएको छ। ८ वटा घर पहिरोको उच्च जोखिममा छन् ।
मुस्ताङबाट पत्रकार सुशीलबाबु थकालीका अनुसार, ६३ घरधुरी रहेको तिब्बति शिविरका ५० घरमा मानिस बस्छन् भने बाँकीमा सामुदायिक भवन, स्वास्थ्य चौकी, विद्यालय, कभर्ड हल, सार्वजनिक शौचालय, गाईगोठ, गुम्बालगायत छन्।
बिहानसम्म गएको पहिरोले करिब ३० लाख रुपैंयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, मुस्ताङका हवल्दार टेकबहादुर श्रेष्ठले बताए । उनले पहिरोले छैरो र चिमाङ गाउँ आउजाउ गर्ने करिब ३० मिटर मुख्य बाटो लगेको पनि उनले बताए ।
‘हिजो मात्र डोजर ल्याएर खनेका थियौँ तर राती अचानक पहिरो आयो,’ श्रेष्ठले भने, ‘रातारात सुरक्षित स्थानतर्फ जाने काम भयो । जोखिममा रहेकाहरु छिमेकीकहाँ शरण लिन बाध्य छन् ।’