कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मुगु अस्पतालमा आकस्मिक बाहेकका सेवा एक साता बन्द
अच्यूतराज भण्डारी, मुगु
जिल्ला अस्पताल मुगुमा आजबाट एक साताका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।
अस्पतालमा कार्यरत एक कर्मचारीमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण फैलिने जोखिमका कारण सेवा बन्द गरिएको हो। संक्रमित कर्मचारीलाई जिल्ला अस्पतालकै आइसोलेसन कक्षमा राखेर उपचार गरिंदैछ।
५ भदौमा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बिरामी लगायतका ६२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो। तीमध्ये अस्पतालका एक कर्मचारीको रिपोर्ट पोजिटिभ देखिएको जिल्ला अस्पताल मुगुका प्रमुख, डा. निर्मल नगरकोटीले जानकारी दिए।
ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार बेलुकीदेखि नै जिल्ला अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सम्पूर्ण कर्मचारी सेल्फ क्वारेन्टिनमा बसिरहेका छन्। एक सातापछि सबैको स्वाब संकलन गरी पीसीआर परीक्षण गराइने र आएको रिपोर्टका आधारमा अस्पतालका अन्य सेवा सञ्चालनबारे निर्णय गरिने अस्पताल प्रमुख नगरकोटीले बताए।
विभिन्न वार्डमा भर्ना गरिएका बिरामी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण भएपछि घर गएका छन्।