देशका विभिन्न स्थानमा रगतको अभाव, रक्तदानको लागि अनुरोध
कोरोना महामारीका कारण देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू भएपछि बिरामीलाई रगतको अभाव भएको छ।
बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकोले केन्द्रीय रक्तसञ्चार सेवा लगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरूमा अत्यन्तै न्यून सँख्यामा रगत स्टक रहेको केन्द्रीय रक्तसञ्चार सेवाले जनाएको छ।
केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार शनिवारको लागि बुक गरिएका क्याम्पहरू सबै स्थगित भएका छन्। उनका अनुसार बिहीबार ३२ जना दाताहरूले केन्द्रमै आएर रक्तदान गरेकाले ६४ पिन्ट रगत संक्लन गर्न सकिएको तर थप ६१ जना रित्तोहात फर्किनुपरेको थियो। शुक्रबार २६ जनालाई फर्काउनुपरेको उनको भनाइ छ।
दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेशन गर्नुपर्ने बिरामीहरूका आफन्त केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए।
केन्द्रमात्र होइन् धरान, विराटनगर, चितवन लगायतका स्थानमा पनि रगत अभाव भइरहेको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । ती क्षेत्रका अधिकांश भागमा निषेधाज्ञा छ र वरिपरिका जिल्लाहरूबाट पहिलाजस्तो सहयोग हुनसक्ने परिस्थिति रहेको छैन। तर, नेपालगञ्जमा भने तुलनात्मक सहज देखिएको छ।
रगत नपाए भक्तपुर जानु भन्ने अभियान सञ्चालन गरेको भक्तपुर केन्द्रले विगतको लकडाउनमा पर्याप्त रक्तसंकलन गरेपनि विगत १३ दिनदेखि कुनै क्याम्प आयोजना नभएकोले त्यहाँपनि अहिले रगतको स्टक समस्यामा परेको छ। तर, स्थानीय प्रशासन र पालिकाको सहमति लिई आज शनिवार बिहान सुडालमा क्याम्प आयोजना गरिएको र त्यहाँ २ महिला र २४ पुरुषले रक्तदान गरिकेको र अर्को एक स्थानमा रक्तदान शिविर चलिरहेको शाखाका मन्त्री परशुराम पाण्डेले जानकारी दिए।
रगतको माग भइरहेकोले रक्तदाता, संघसंस्था र रेडक्रसका निकायहरूले सानो समूहमा भएपनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन गर्न सके रगत आपूर्ति सहज हुने निर्देशक पौडेलले बताए । उनले भने, "नियमित रक्तदाता तथा यूवाहरुले नजीकका केन्द्रहरुमा गई रक्तदान गर्नसक्दछन् । विरामीको रक्तसमूहसंग मिल्ने साथीभाई, इष्टमित्रहरुसँग पहिल्यै सोधखोज, उत्प्रेरणा तथा अनुरोध गरेमा कुरुवा र आफन्तजनलाई पनि सजिलो हुनेछ।"
सुरक्षित तवरले रक्तदान गर्दा गराउदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य संघले यस अघि नै स्पष्ट पारिसकेको छ।