थप ४६८ जनामा संक्रमण पुष्टि, शनिबार ११ हजार बढीकाे पीसीआर परीक्षण
बितेको २४ घण्टामा थप ४६८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी संक्रमित संख्या २६ हजार नाघेको जनाएको छ।
शनिबार थपिएको सहित संक्रमित संख्या २६ हजार १९ पुगेको छ। सवैभन्दा बढी संक्रमित आज पनि काठमाडौंमै थपिएका छन। काठमाडौंमा ८० जनामा संक्रमण पुष्टि भएको छ। ललितपुर र भक्तपुरमा भने ९–९ जना संक्रमित थपिएका छन्।
शनिबार निको भएर घर फर्कने संक्रमित संख्या भने १२४ जना मात्रै छन्। यो सहित डिस्चार्ज हुने संक्रमित संख्या १७ हजार २०१ पुगेको छ। अर्थात्, संक्रमित मध्ये ६६.१० प्रतिशत संक्रमित निको भएका छन्।
२४ घण्टामा थप तीन जनाको मृत्यु भएपछि नेपालमा मृत्यु हुनेको संख्या एक सय नाघेको छ। मन्त्रालयले कपिलपस्तु, धनुषा र पर्सामा एक–एक जनाको मृत्यु भएको जनाएको छ।
कपिलवस्तुका ४० वर्षीय पुरुषको ३१ साउन बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। शुक्रबार साँझ पर्साका ६० वर्षीय पुरुषको मृत्यु भएको थियो। नारायण अस्पतालमा उनको मृत्यु भएको हो। यस्तै धनुषाका ५० वर्षीय पुरुषको २९ साउनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हाल उपचारत संक्रमित संख्या आठ हजार १९३ छ। प्रदेश १ मा ८५४, प्रदेश २ मा दुई हजार ८२७, बागमती प्रदेशमा दुई हजार दुई, गण्डकी प्रदेशमा २६२, प्रदेश ५ मा ७३६, कर्णाली प्रदेशमा २२५ र सुदूरपश्चिममा ८१० जना संक्रमित उपचारत छन्।
मन्त्रालयका अनुसार, शनिबार एघार हजार ४७ जनाको पीसीआर परीक्षण भएको हो। ३७ प्रयोगशालाबाट अहिलेसम्म नेपालमा पाँच लाख ६ हजार ६० जनाको पीसीआर परीक्षण भएको छ।