त्रिवि शिक्षण अस्पतालका थप ८ जना कर्मचारीलाई कोरोना संक्रमण
त्रिवि शिक्षण अस्पतालका ८ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भएका अस्पतालका ८ कर्मचारीमध्ये दुई जना चिकित्सक छन्।
८ जनासहित अहिलेसम्म कोरोना संक्रमित हुने अस्पतालका कर्मचारीहरुको संख्या २६ पुगेको छ। त्रिवि शिक्षण अस्पतालका कोरोना संक्रमित २६ जना कर्मचारी मध्ये १६ जना सक्रिय संक्रमित छन्, भने बाँकी १० जना संक्रमणमुक्त भइसकेको डा.सन्त कुमार दासले बताए।
डा. दासका अनुसार १६ जना सक्रिय संक्रमितमध्ये ४ जना होम आइसोलेसनमा छन्। बाँकी १२ जना कर्मचारीको अस्पतालमै राखेर उपचार भइरहेको छ।
यस्तै त्रिवि शिक्षण अस्पतालमा अन्य विभिन्न अस्पतालका कोरोना संक्रमित चिकित्सकको पनि उपचार भइरहेको छ। काठमाडौंको वीर अस्पताल र विराटनगरको नोबेल मेडिकल कलेजका एक–एक जना कोरोना संक्रमित चिकित्सको शिक्षण अस्पतालमा उपचार भइरहेको हो।
डा. दासले ती २ जना चिकित्सकको अवस्था जटिल भएको बताएका छन्। “उहाँहरुलाई निमोनिया भएका कारण अहिले आईसीयूमा अक्सिजन दिएर राखिएको छ,” उनले भने।
मुलुकमा पछिल्ला दिनहरूमा चिकित्सक लगायतका स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि नेपाल चिकित्सक संघले उनीहरूका लागि सरकारले आवश्यक स्वास्थ्य सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गर्दै आइरहेको छ।