कोरोनाका कारण टेलिकमको आम्दानी सवा दुई अर्बले घट्यो
नेपाल टेलिकमको आम्दानी कोरोनाभाइरस (कोभिड—१९)का कारण सवा दुई अर्ब रुपैयाले घटेको छ। नेपाल टेलिकमका अनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा ६.२ प्रतिशत अर्थात रु.२ अर्ब २९ करोड २८ लाखले घटेको छ।
टेलिकमले गत आव २०७५/७६ मा कूल सेवा वापतको आय रु.३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रहेकोमा आव २०७६/७७ मा यस्तो सेवा वापतको गरेको आय रु.३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रहेको उल्लेख छ। टेलिकमको आयमा कमी आउनुका कारण कोभिडको असरले टेलिकमको सेवा प्रयोग कम भएको नै उल्लेख छ।
टेलिकमका सेवाहरु मध्ये लिज्ड लाइन, एफटीटीएच र जीएसएम डाटा बाहेक अन्य सबै सेवाबाट प्राप्त हुने राजश्वमा कमी आएको कारण गत आवमा यसको आम्दानी घटेको टेलिकमले विज्ञप्ति जारी गरेरै जानकारी दिएको छ।
कम्पनीले रिचार्ज कार्डको बिक्रीमा १ चैत २०७५ सुरु भएको कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न थालेको थियो। कूल बिक्रीलाई हिसाब गरेपछि कमिसन प्रदान गरिने, तर डिस्काउन्ट रिचार्ज कार्ड बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले सेवा वापतको आय घटेको पनि टेलिकमको भनाइ छ।
टेलिकमको फोरजी सेवाको विस्तारको कारणले २०७६/७७ को तेस्रो त्रैमासिक अवधिमध्येबाट राजश्व वृद्धि उन्मुख रहेकोमा मुलुक भित्र लगायत विश्वव्यापी रुपमा फैलिएको कोभिडको महामारीको प्रत्यक्ष असरले गर्दा अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्य सेवामा आएको उच्च गिरावट आएको टेलिकमको भनाइ छ।
ओटीटीको बढ्दो प्रयोग जस्ता कारणहरुले गर्दा जीएसएम तथा पीएसटीएन भ्वाइस सेवामा करिव रु.२ अर्व १६ करोड र अन्तर्राष्ट्रिय सेवामा करिव रु.५४ करोडको कमी भएको छ। टेलिकमको डाटा सेवा प्रयोगमा भने करिव रु.७५ करोड वृद्धि भएको छ। टेलिकमको आम्दानी घटेका कारण यसले राजश्व योगदानमा पनि करिव १५ प्रतिशत अर्थात रु.१ अर्ब ९५ करोडले घटेको उल्लेख छ।