जिल्ला प्रशासनबाट वितरण हुने सवारी पास आजबाट बन्द
देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यकताका आधारमा वितरण भइरहेको सवारी पास आजबाट नदिइने भएको छ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ।
हिजो बुधबार जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएर गृहले आजबाट सवारी पास वितरण नगर्न निर्देशन दिएको हो। गृहको पत्रमा अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास वितरण बन्द गर्न भनिएको छ।
कोरोनाभाइरस संक्रमणको उच्च जोखमलाई मध्यनजर गरी आजबाटै लागू हुने गरी सवारी पास वितरण नगर्न पत्रमा निर्देशन दिइएको छ। पत्रको बोधार्थ प्रहरी प्रधान कार्यालयलाई पनि पठाइएको छ।