अनुसन्धानका लागि रेमडीसिभिरलाई अनुमति दिइँदै
औषधी व्यवस्था विभागले अनुसन्धान गर्ने प्रयोजनका लागि रेमडीसिभिर औषधीलाई आयात अनुमति दिने प्रक्रिया अघि बढाएको छ।
विभागले उक्त प्रयोजनका लागि अनुमति दिने गरी औषधी आयातकर्तासँग रेमडीसिभिरलाई विदेशबाट आयात गर्नका लागि आशय मागेको छ।
औषधी व्यवस्था विभागले २७ साउनमा इच्छुक आयातकर्ताहरूलाई तोकिएको मापदण्ड पूरा गरेर औषधी आयात गर्नका लागि आशय माग गरेको हो।
यसअघि स्वास्थ्य मन्त्रालयले २६ साउनमा उक्त औषधी आयातको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
विभागका महानिर्देशक नारायण ढकालले इच्छुक आयातकर्ताले स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्ने अस्पतालको सहमति, औषधी प्रयोग गर्ने चिकित्सकको योग्यता, औषधी उत्पादन गर्ने कम्पनिको गुणस्तर यकिन हुने प्रमाणपत्र लगायतका कागजपत्र पेश गरेपछि मात्र आयातका लागि अनुमति दिन सकिने बताएका छन्।
महानिर्देशक ढकालले आयात गरेर ल्याएका रेमडीसिभि औषधीलाई तोकिएको अस्पतालमा चिकित्सकको निगरानी अन्तर्गत रहेर बिरामीमा प्रयोग गर्न सकिने बताएका छन्।
यसैबीच नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रेमडीसिभिलाई अनुसन्धान गर्ने प्रयोजनका लागि आयात अनुमति मागेको छ। परिषद्ले २७ साउनमा विभाग समक्ष अनुसन्धान गर्ने प्रयोजनका लागि आयात अनुमति मागेको हो।
विभागका महानिर्देशक ढकालले परिषद्लाई औषधी ल्याउन अनुमति दिइनसकेको तर दिने प्रक्रियामा रहेको बताएका छन्।