कोरोना अपडेट: संक्रमणबाट मृत्यु हुनेमा ४१ वर्षमाथिका ६९ जना (उमेर समूहसहित)
कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म सबैभन्दा धेरै ६० वर्ष माथिका व्यक्तिको मृत्यु भएको छ। प्राप्त तथ्यांक अनुसार २८ साउनसम्म सबैभन्दा धेरै ६० वर्षमाथिका व्यक्तिको मृत्यु भएको देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार २८ साउनसम्म कुल ९१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यीमध्ये ६० देखि ८५ वर्ष उमेर समूहका ३५ जनाको मृत्यु भएको छ। ३५ जनामध्ये १९ जना ७० देखि ८५ वर्षका छन् भने बाँकी १६ जना ६० देखि ६९ वर्ष उमेरका छन्।
कोरोना संक्रमणबाट मृत्यु हुनेहरूमा ४० वर्षदेखि ५९ वर्षसम्मका र ६० वर्षभन्दा माथिका उमेर समुहका व्यक्तिको संख्या लगभग उस्तै छ।
कारण मृत्यु हुनेमा ४१ देखि ५९ वर्ष उमेर समूहका ३४ जना छन्। यस हिसाबले कोरोना संक्रमणका कारण सबैभन्दा धेरै ४१ वर्षदेखि माथिका ६९ जनाको ज्यान गएको छ।
यसपछि ३० देखि ४० वर्ष उमेर समूहका १० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा २० देखि २९ वर्ष उमेरका ७ जना, १० देखि १९ वर्ष उमेरका २ जना र १ देखि ९ वर्ष उमेरका २ जना छन्।
यस्तै कोरोना संक्रमणका कारण मुुलुकमा १ जना ४९ दिने शिशुको समेत मृत्यु भएको छ।