महामारीमा यौनसम्पर्कः चुम्बन नगरौं, अनुहार आमने–सामने हुने आसन परिवर्तन गरौं !
बेलायतको एक स्वास्थ्य संस्थाले कोभिड–१९ महामारीको डरका बाबजुद व्यक्तिले लामो समय आफ्नो यौनेच्छा दबाउन नसक्ने भन्दै सुरक्षित यौनसम्पर्कको उपाय सुझाएको छ।
कोभिड–१९ महामारीका कारण काममा फर्कंदा होस् या किनमेलमा जाँदा, या अन्य कुरामा ‘न्यू नर्मल’ अवस्था बारे त तपाईंले सुन्नु भएकै होला । तर, यो ‘न्यू नर्मल’ अनुरुपको व्यवहार यौनसम्पर्कका बेला पनि अपनाउनुपर्ने भएको छ।
यौनस्वास्थ्यमा कार्यरत् बेलायती संस्था टेरेन्स हिगिन्स ट्रष्टले महामारीका बेला यौनसम्पर्कमा होशियारी अपनाउन सुझाएको छ।
संस्थाले प्रकाशित गरेको सुझावमा यौनसम्पर्कका बेला चुम्बन नगर्न, पूरै अनुहार ढाक्न र अनुहार आमने–सामने नहुने आसन अपनाउन भनिएको छ।
“यस्तो गर्नु कठिन हुनसक्छ तर कोभिङ–१९ महामारीको जोखिम नियन्त्रणका लागि मानिसले आफ्नो यौनेच्छा र अन्तरंग सम्बन्धमा समेत सन्तुलनको उपाय खोज्नुपर्ने भएको छ”, ट्रष्टले भनेको छ।
ट्रष्टले महामारीका बेला व्यक्तिको यौनेच्छा समाधान गर्ने उपयुक्त साथी आफू स्वयं वा सँगै बसिरहेको व्यक्ति हुने पनि जनाएको छ । हस्तमैथुन, सेक्स टोयजको प्रयोग, फोन र अनलाइन सेक्स यो बेलाका सुरक्षित विकल्प भएको पनि संस्थाले आफ्नो सुझावमा उल्लेख गरेको छ।
हामीले अझै पनि सामाजिक दूरीलाई कायम राख्नैपर्छ तर यसका बाबजुद महीनौंको बन्दाबन्दी भोगेकाहरुले अझै पनि यौनसम्पर्कको चाहनालाई पर सार्न सक्छन् भन्नु अवास्तविक हुने संस्थाको ठहर छ । “यदि घरबाहिरका व्यक्तिसँग यौनसम्पर्क राख्ने हो भने साथीहरुको संख्या सकेसम्म थोरैमा सीमित राख्नुपर्छ”, संस्थाको सुझाव छ।
कुनै नयाँ साथीसँग भेट्नुअघि उनी र उनको परिवारमा कसैलाई संक्रमणको लक्षण देखिए, नदेखिएको बारे सोध्न संस्थाले सल्लाह दिएको छ।
के यौनसम्पर्कबाट कोरोनाभाइरस सर्छ ?
कोरोनाभाइरस भएका व्यक्तिको थुक, कफ, श्वासप्रश्वासको सम्पर्कमा रहेका व्यक्तिमा यो भाइरस सर्नसक्छ । यी भाइरस बसेका सतह, वस्तुबाट पनि हात, मुख, आँखाबाट पनि भाइरस शरीरमा प्रवेश गर्नसक्छ।
“जब तपाईंहरु एकआपसको यौनाङ्ग स्पर्श गर्न थाल्नुहुन्छ, हुनसक्छ यही बेला चुम्बन पनि गर्नुहुन्छ, यहीबेला थुकका माध्यमबाट भाइरस शरीरभित्र प्रवेश गर्छ”, रेडियो वान न्युजबिटसँग अन्तर्वार्ताका क्रममा डा. एलेक्स जर्ज भन्छन्।
वीर्य र दिसामा समेत कोरोनाभाइरस पाइएकाले यौनसम्पर्कका बेला अनिवार्य कण्डम, डेन्टल ड्यामजस्ता वस्तुको प्रयोग गर्नुपर्ने पनि बताइएको छ । यौनसम्पर्क अघि र पछि २० सेकेण्डभन्दा बढी साबुनपानीले हात धुन र ह्याण्ड सानिटाइजर प्रयोग गर्न पनि सल्लाह दिइएको छ।
बन्दाबन्दीमा अधिकांश मानिससँग सीमित यौनसाथी मात्र सम्पर्कमा भएकाले आफूमा यौनरोग, एचआईभी र एड्सजस्ता रोग भए, नभएको जाँच गर्न समेत यही बेला उपयुक्त भएको पनि ट्रष्टको मत छ।
(एजेन्सीको सहयोगमा)