कोरोनाबाट बुधबार अहिलेसम्मकै उच्च संख्यामा मृत्यु, मृतक संख्या ९१ पुग्यो
कोभिड महामारीको संक्रमणबाट बुधबार अहिलेसम्मकै उच्च संख्यामा मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बितेको २४ घण्टामा आठ जनाको मृत्यु भएको छ।
धनुषाका मात्रै तीन जनाको मृत्यु भएको छ। काठमाडौंको मेडिसिटी, पाटन र ह्याम्स अस्पतालमा उपचारका क्रममा धुनषाका तीन जनाको मृत्यु भएको हो। ३२ वर्षीय र ७१ वर्षीय पुरुष र ३० वर्षीय महिलाको संक्रमणबाट मृत्यु भएको हो।
काठमाडौंका ७८ वर्षीय पुरुषको किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सप्तरी राजविराजका ७२ वर्षीय पुरुषको २७ साउन राति मृत्यु भएको मन्त्रालयले जनाएको छ।
कपिलवस्तुका ४२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ भने बारा कलैयाका ७५ वर्षीय पुरुषको २७ साउनमा मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ।
बुधबार थप ४८४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सवैभन्दा बढी काठमाडौंमा संक्रमित थपिएका छन्। बुधबार थपिएको सहित संक्रमित संख्या २४ हजार ४३२ पुगेको छ।
सोमबार डिस्चार्ज हुनेको संख्या भने ६४ जना मात्रै छन्। यो सहित संक्रमित निको हुने संख्या १६ हजार ७२८ पुगेको छ। अर्थात्, संक्रमित मध्ये ६८.४ प्रतिशत निको भएर घर फर्किएका छन्।
आज १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको थियो। देशका ३७ प्रयोगशालामा अहिलेसम्म चार लाख ७३ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ।