थप ४८४ जनामा संक्रमण पुष्टि, एकै दिन आठ जनाको मृत्यु
बुधबार थप ४८४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सवैभन्दा बढी काठमाडौंमा संक्रमित थपिएका छन्। काठमाडौंमा १०९ जनामा संक्रमण पुष्टि भएको छ। राजधानी उपत्यकामा १४० जना संक्रमित थपिएका छन्।
बुधबार थपिएको सहित संक्रमित संख्या २४ हजार ४३२ पुगेको छ। सोमबार डिस्चार्ज हुनेको संख्या भने ६४ जना मात्रै छन्। यो सहित संक्रमित निको हुने संख्या १६ हजार ७२८ पुगेको छ। अर्थात्, संक्रमित मध्ये ६८.४ प्रतिशत निको भएर घर फर्किएका छन्।
आज १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको थियो। देशका ३७ प्रयोगशालामा अहिलेसम्म चार लाख ७३ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ। बुधबार थपिएको सहित सक्रिय संक्रमितको संख्या सात हजार ६१३ पुगेको छ।
सवैभन्दा बढी प्रदेश २ मा छन्। प्रदेश २ मा तीन हजार ४५७ संक्रमित उपचारत छन्। प्रदेश १ मा ६१४, बागमती प्रदेशमा एक हजार ५२४, गण्डकी प्रदेशमा २४७, प्रदेश ५ मा ६५७, कर्णाली प्रदेशमा २२० र सुदूरपश्चिम प्रदेशमा ८९४ जना उपचारत छन्।
बुधबार थप आठ जनाको मृत्यु भएको छ। काठमाडौं, धनुषा, सप्तरी, कपिलवस्तु र बारामा संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार, मृतक संख्या ९१ पुगेको छ।