कोरोना भाइरस विरुद्ध लड्ने भ्याक्सिन बनाएको रुसको दाबी
रुसले कोरोना भाइरस विरुद्ध लड्न सहयोग पुर्याउने भ्याक्सिन बनाएको दाबी गरेको छ।
द न्यूर्योक टाइम्सले मंगलबार प्रकाशित गरेको समाचार अनुसार रुसले पहिलोपटक कोरोना भाइरस विरुद्ध लड्ने भ्याक्सिन बनाएको जनाएको छ।
रुसका राष्ट्रपति भ्यालादिमिर पुटिनले मंगलबार फेसबुक पेजमार्फत केही दिनमै उक्त भ्याक्सिन रुसमा दर्ता गर्ने बताएका छन्।
उनले फेसबुक पोष्टमार्फत भनेका छन्, “रुसका वैज्ञानिकहरूले भ्याक्सिनको परीक्षणका लागि आवश्यक चरण पार गरिसकेका छन् र, यसको प्रभावकारिता र सुरक्षा प्रमाणित गरेका छन्।”
तर पुटिनका अनुसार उक्त भ्याक्सिनको 'क्लिनिकल ट्रायल' भने पूरा भइसकेको छैन। उनले कोरोना विरुद्धको भ्याक्सिन बनाउने दौडमा आफूहरूले विजय प्राप्त गरेको समेत दाबी गरेका छन्।
मंगलबारको क्याबिनेट बैठकमा बोल्दै पुटिनले भने, “यो भ्याक्सिनले पर्याप्त मात्रामा प्रभावकारी काम गर्छ। शरीरमा स्थिर प्रतिरक्षा बनाउँछ। म दोहोर्याउँछु, यो सबै आवश्यक परीक्षणको माध्यमबाट भएको हो।”
उनले आफ्नी एक छोरीले समेत उक्त भ्याक्सिन लिएको दाबी गरेका छन्। रसियाका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आउँदो अक्टोबर महीनामा शिक्षक र स्वास्थ्यकर्मीमार्फत ठूलो संख्यामा खोप अभियान शुरु गर्ने बताएका छन्।
रुसमा बनाइएको भ्याक्सिनलाई शुरुमा बाँदर र त्यसपछि मानिसमा गरिएको परीक्षण सफल भएको रुसी अधिकारीहरूको दाबी छ।
उक्त भ्याक्सिन विकास गरेको रुसको गेमलिया इन्स्टीच्युटका वैज्ञानिकहरूको समूहले हो।
इन्स्टीच्युटका वैज्ञानिकहरूले अब भ्याक्सिन ठूलो समूहमा परीक्षण गर्न सुरक्षित र प्रभावकारि भएको बताएका छन्। तर विश्व स्वास्थ्य संगठनको भ्याक्सिन ट्रायलसम्बन्धी पछिल्लो सुची(लिष्ट)मा रुसको कुनै पनि भ्याक्सिन समावेश भएको छैन।