अब दैनिक ५ सयजनाको मात्रै उद्धार उडान, हवाई उडानहरु १६ भदाैसम्म बन्द रहने
अब सरकारले दैनिक ५ सय जनासम्मको मात्रै दैनिक उद्धार उडान गर्ने भएको छ । सरकारले ३२ असारदेखि विदेशमा अप्ठ्यारोमा परेका वा रोजगारीका सिलसिलामा विदेश पुगेर अलपत्र परेका नेपाली नागरिकको उद्धार उडान शुरु गरेको थियो।
यस्ताे उडानबाट २७ साउनसम्म ५८ देशबाट ४९ हजार ८३१ जनाको उद्धार उडान भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जानकारी दिएको छ।
सरकारले अब भने दैनिक ५ सय जनासम्म मात्रै उद्धार उडान गर्ने निर्णय गरेको अर्थ तथा सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले २७ साउनमा सार्वजनिक गरेको २६ साउनको मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ।
नेपाल सरकारको उक्त निर्णय अनुसार, अनुमति भएका व्यक्तिलाई नेपाली कूटनीतिक नियोगको सिफारिशमा ३ सय जना र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी २ सय जना गरी कुल ५ सय जना नबढ्ने गरी उद्धार उडानको अनुमति दिने निर्णय भएको मन्त्री डा. खतिवडाले बताए।
उद्धारबाट आएका नेपालीलाई काठमाडौं उपत्यकामै क्वारेन्टिनमा राख्नुपर्ने उल्लेख छ । उद्धार उडानबाट आएका संक्रमण मुक्त भएको एकिन गरेर मात्रै सम्बन्धित स्थानीय तहमा पठाउने व्यवस्था पनि सरकारले मिलाउने भएको छ । यसरी आएका नेपालीलाई पीसीआर जाँच गर्ने व्यवस्था ५ देखि ७ दिनभित्र स्वास्थ्य मन्त्रालयबाट नै गर्ने व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ।
सरकारले नेपाल आउने हवाई उडानका लागि भने १६ भदाैसम्मलाई रोक लगाएको छ । यस अघि १ भदौदेखि खुला गर्ने निर्णय गरेको भएपनि संक्रमण बढ्दै गएकाले हवाई उडान रोक गर्ने मितिलाई अझै १५ दिन पछाडि सारेको पनि सञ्चार मन्त्री खतिवडाले जानकारी दिए।
* यसअघि भदौ १६ सम्म हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ।