याे वर्ष २ लाख पर्यटक आउने बाेर्डकाे अनुमान, ८२ करोडकाे बजेट स्वीकृत
नेपाल पर्यटन बोर्डले वर्षभरिमा २ लाख ६ हजार जनामात्रै पर्यटक आउने अपेक्षा गरेर चालू आर्थिक वर्ष २०७७/७८ को बजेट स्वीकृत गरेको छ। चालू आवको साउन र भदौमा हवाई उडान ठप्प भएकाले असोजदेखिको १० महीनामा उक्त पर्यटक आउने अनुमान बोर्डको छ।
बोर्डले चालू आवमा नेपाल भ्रमणमा आउने ती पर्यटकले बोर्डलार्ई तिर्ने प्रति व्यक्ति सेवा शुल्कबापत रु.११३५ लाई मुख्य आम्दानीको स्रोत मानेको छ । यसबाट करीब रु.२३ करोड आम्दानी, संचित कोषमा रहेको रु.१४ करोड, एयर एसिया र जेट एयरवेजबाट उठाउनुपर्ने रु.११ करोड, नेपाल भ्रमण वर्ष मार्फत प्राप्त भएको खर्च गर्न बाँकी रु.६ करोड गरी कुल करीब रु.८२ करोडको बजेट तय गरेर स्वीकृत गरेको बोर्ड सदस्य दीपक महतले जानकारी दिए।
कोभिड–१९ को नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीसँगै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द छन्। त्यसपछि असोजदेखि असारसम्ममा आउने पर्यटकको अनुमानका आधारलाई दृष्टिगत गरेर बोर्डले बजेट बनाएको हो।
पर्यटक नआएको अवस्थामा भने बोर्डले रु.१२ देखि १४ करोड मात्रै खर्च गर्न सक्ने र बाँकी रकम आम्दानी भए खर्च गर्ने नत्र नगर्ने गरी प्राथमिकताक्रम निर्धारण गरेको छ।
बोर्डले चालू आवमा पूर्वाधार र मेला–महोत्सवको खर्च कटौती गरेको छ । अत्यावश्यक काम मात्रै गर्नुपर्ने र जोखिम न्यूनीकरण पनि गर्दै जानुपर्ने भएकाले विगतका वर्षको तुलनामा यस वर्ष पूर्वाधार निर्माण र मेला महोत्वमा हुने सबै खर्च कटौती गरिएको बोर्डले जानकारी दिएको छ।
बोर्डका अनुसार, डिजिटल माध्यमबाट हुने पर्यटन प्रवर्द्धन तथा विदेशी पर्यटक आकर्षक गर्ने माध्यमलाई प्राथमिकता राखेर बजेट तयार पारिएको छ । यस वर्ष अध्ययन अनुसन्धानसहित विद्युतीय बजारबाट गरिने खर्चलाई प्राथमिकता राखेर बोर्डले बजेट ल्याएको पनि उल्लेख छ।