श्रीकृष्ण जन्माष्टमीमा स्वास्थ्य मन्त्री ढकालको शुभकामना: सरकारको आलोचना गर्नेको मति सप्रियोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस भन्दै शुभकामना दिएका छन्।
उनले पार्टी भित्र र बाहिरबाट मति बिग्रिएकाहरूले कोभिड-१९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेको भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस भन्ने शुभकामना दिए।
मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले मति बिग्रीएर सरकारको आलोचना गर्ने सबैलाई महामारी विरुद्ध लडन मति सप्रियोस भन्दै शुभकामना दिए।
"आजको यो कृष्णअष्टमीको दिन मति बिग्रिएकाहरूको लागि पनि यो महामारीका विरुद्ध लडनका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु। चाहे ती मेरा घरभित्र बसेका हुन्, चाहे छिमेकमा बसेका व्यक्तिहरू हुन्," उनले भने, "सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेको योद्धाहरूको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुर्याउन सक्दैन्।"
उनले महामारीबाट बाँचियो भने सत्ताको लडाई फेरीपनि खेल्न सकिने भन्दै सकारलाई सघाउन नेताहरूलाई आग्रह गरे। सरकारलाई जनताले पाँच वर्षको म्याण्डेट दिएकाले पाँच वर्षपछि नै सत्ताको खेलमा लाग्न समेत उनले आग्रह गरे।
उनले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको भन्दै कुनैबेला पीपीई भएन भने सामूहिक राजीनामा दिन्छौं भन्नेहरू अहिले चुप लागेको बताए।
त्यस्तै उनले गीतबाट समेत सरकारको आलोचना गरिएको भएपनि अहिले त्यसको जवाफ सरकारले दिइसकेको बताए। उनले अहिलेसम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने बताए।
उनले जस्तोसुकै गीत आएपनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभई व्यवहारबाट दिने बताए। उनले भने ‘गीतहरू बदलिबदलि आउने छन्। एक जमना थियो पीपीई भएन भने हामी राजीनामा दिन्छौं भन्ने थियो। अब त्यसको अभाव छैन भनेपछि अहिले त्यसको गीत बजेन, त्यसपछि पीसीआर परीक्षणको गीत आयो। अब औषधिको आउने छ र भेन्टीलेटरको गीतहरू आउनेछन्। ती गीतका भाकाहरूलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा सिद्धान्तमा होइन व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ।"
मन्त्री ढकालले नेपालमा अहिलेपनि कोरोना संक्रमणको स्थिति नियन्त्रण भित्रै रहेको बताए। संक्रमणको अवस्था समुदायस्तरमा देखिएपनि नियन्त्रण्को स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने बताए।
अन्य मूलुकहरुको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका लागि गरिएका कार्यहरू प्रभावकारी भएको उनको दाबी छ। महामारीको अप्ठेरोको यो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गरे।