मुगु पुगेर डा. गोविन्द केसीले गरे १७७ जनाको निःशुल्क उपचार, तीन जनाको शल्यक्रिया
अच्यूतराज भण्डारी, मुगु
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी कर्णालीको मुगु पुगेर बिरामीको निःशुल्क उपचार गरेका छन्। गएको २१ साउनमा जुम्लाबाट दुई दिनको पैदलपछि गमगढी पुगेका डा. केसीले त्यसको भोलिपल्टदेखि जिल्ला अस्पताल मुगुमा उपचार शुरु गरेका हुन्।
हाडजोर्नी विशेषज्ञ डा. केसीले गएको बिहीबारदेखि लगातार पाँच दिनसम्म हाडजोर्नी र अन्य रोगका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गरेको जिल्ला अस्पताल मुगुका प्रमुख डा. निर्मल नगरकोटीले जानकारी दिए। सोमबारसम्म उनले १ सय ७७ जनाको स्वास्थ्य परीक्षण र हाडजोर्नीको समस्या भएका तीन जनाको निःशुल्क शल्यक्रिया गरेका थिए।
डा. नगरकोटीका अनुसार, जिल्ला अस्पतालमा डा. केसी आएको जानकारी पाएपछि सामान्य बिरामीदेखि जटिल स्वास्थ्य समस्या भएका सर्वसाधारणको घुइँचो लागेको थियो। डा. केसीले अस्पतालमा कार्यरत डाक्टर तथा अन्य स्वास्थ्यकर्मीलाई हाडजोर्नी सम्बन्धी समस्याबारे जानकारी र प्रशिक्षण समेत दिएका थिए।
‘डा. केसी हाम्रा लागि भगवान् बनेर आए’
मुगुको छायाँनाथ रारा नगरपालिका–७ बालैका १७ वर्षीय गगन भामलाई देब्रे खुट्टा सुन्निने र दुखेर हिंड्डुल गर्न अप्ठ्यारो हुन्थ्यो। डा. केसी जिल्ला अस्पताल आएको थाहा पाएपछि उनी पनि उपचारका लागि गए। डा. केसीले खुट्टाको निःशुल्क शल्यक्रिया गरेपछि अहिले क्रमिक सुधार हुन थालेको भामले बताए।
छायाँनाथ राराकै वडा नम्बर १० की १० वर्षीया रेश्मा भामको तीन वर्षअघि गाईवस्तु चराउन जाँदा लडेर देब्रे हात भाँचिएको थियो। गरीबी र विकट ठाउँ भएको कारण उपचार हुन नसकी उनको हात बाङ्गिएको थियो। गएको शनिबार दिउँसो डा. केसीले शल्यक्रिया गरेपछि वर्षाैंदेखिको उनको पीडा हट्नुका साथै हात सोझिने भएको छ।
रेश्माकी आमा दन्ताले आर्थिक समस्याका कारण छोरीको उपचार गर्न नसकिरहेका वेला डा. केसीले पुण्यको काम गरेको भन्दै खुशी साटिन्। उनले भनिन्, “बाङ्गिएको हातले छोरीले कसरी जीवन चलाउली भनेर चिन्ता लागेको थियो, हाम्रो परिवारका लागि उहाँ (डा.केसी) भगवानकैै रुप लिएर आउनुभयो।”
रेडियोमा हाडजोर्नी सम्बन्धी निःशुल्क उपचार गर्ने डाक्टर जिल्ला अस्पतालमा आएको सूचना पाएपछि उपचारका लागि पुगेको उनले बताइन्।
डा. केसीले जिल्ला अस्पतालमा बिहीबारबाट हाडजोर्नीको शिविर शुरु गरेपछि गगन र रेश्मा जस्तै हाडजोर्नीको समस्या भोग्दै आएकाहरुले निःशुल्क परीक्षण तथा उपचार सेवा पाएका छन्।
गमगढीस्थित एक होटललाई बासस्थान बनाएका डा. केसी बिहान ८ नबज्दै अस्पताल पुगेर दिनभर बिरामीको उपचारमा जुट्ने गरेका थिए। सोमबार दिउँसोसम्म मुगु अस्पतालमा खटिएका डा. केसी पुन जुम्ला फर्केका छन्।