मोदीसमक्ष बिहारका मुख्यमन्त्रीको आरोप- बाढी नियन्त्रणमा नेपालले समन्वय गरेन
छिमेकी मुलुक भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष बाढी नियन्त्रणमा नेपालले समन्वय नगरेको आरोप लगाएका छन्।
भारतका विभिन्न राज्यमा देखिएको बाढीको प्रकोपबारे प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरूसँग गरेको भर्चुअल मिटिङमा नीतिशले नेपालमाथि समन्वय नगरेको आरोप लगाएका हुन्। भारतीय समाचार संस्था पीटीआईलाई उद्धृत गर्दै त्यहाँको अनलाइन न्यूज पोर्टल ‘स्क्रोल’ले छापेअनुसार नीतिशले मोदीलाई नेपालमा भएको अत्यधिक वर्षाका कारण उत्तरी बिहारमा बाढीको भयावह प्रकोप देखिएको बताएका थिए।
उनले भनेका थिए, “नेपाल र भारतबीचको सम्झौताबमोजिम बिहारको ‘वाटर रिसोर्स डिपार्टमेन्ट’ ले सीमा क्षेत्रमा बाढी नियन्त्रणको काम गर्छ, तर हामीले नेपालबाट पछिल्ला केही वर्षहरूमा पूर्ण समन्वय पाएका छैनौं।” मोदीले आसाम, विहार, उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक र केरलाका मुख्यमन्त्रीसँग छलफल गरेका थिए।
नेपाल र भारतको कुटनीतिक सम्बन्धमा पछिल्ला केही महीना झन् तनाव देखापरेको छ। भारतले नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेत समेटेर नयाँ नक्सा जारी गरेपछि सम्बन्धमा चिसोपन बढ्न थालेको हो।
कुटनीतिक रुपमा त्यसको कडा प्रतिवाद गरेको नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको छ। उक्त क्षेत्रमा नेपालको आपत्तिका बाबजुद भारतले लिपुलेक जोड्ने ‘लिङ्क रोड’ बनाएको छ।