'फेसबुकमा अन्तरंग फोटो राख्न थालेपछि स्लिपिङ ट्याब्लेट खुवाएर हत्या'
गएको २५ साउनमा काठमाडौँको गोंगबुमा भेटिएको कृष्णबहादुर बोहोराको शव हत्यापछि कल्पना मुडभरी (पौडेल)ले फ्यालेको प्रहरीले जनाएको छ। उनले रक्सीमा पाँच वटा स्लिपिङ ट्याब्लेट हालेर खुवाइ हत्या गरेको स्वीकारेको पनि प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा त्यो दिन कल्पनाको डेरामा गएका थिए। रक्सी र स्लिपिङ ट्याब्लेटले लठ्ठिएपछि कल्पनाले पहिला अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन्। त्यसपछि सलले घाँटी कसेकी थिइन्।
प्रहरीका अनुसार बोहोराको मृत्युपछि उनले घाँटी र खुट्टा छिनाएकी थिइन्। शरीरलाई सुटकेशमा र टाउको र खुट्टा जेब्रा झोलामा हालेर उनले डेरा नजिक खाली जग्गामा राखेकी थिइन्।
बोहोरा र उनीबीच अन्तरंग सम्बन्ध रहेको, बोहोराले आफ्नो नाङ्गो फोटो फेसबुकमा हाल्न थालेपछि हत्या गरेको बयान उनले दिएको प्रहरीले जनाएको छ।
प्रहरीले सोमबार उनीसहित १५ वर्षीया छोरीलाई पक्राउ गरी चितवनको टाँडीबाट काठमाडौं ल्याएको थियो। बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ थियो। तर, उनले हत्या र शव व्यवस्थापन आफैँले गरेको प्रहरीलाई बताएकी छिन्।