महम्मदको आलोचना गरेको आरोपमा नाइजेरियाका एक गायकलाई मृत्युदण्डको फैसला
नाइजेरियाको उत्तरमा पर्ने मुस्लिम बाहुल्य कानो राज्यका २२ वर्षीय गायक याहाया शारिफ–अमिनुलाई गीतमा महम्मदको आलोचना गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ।
अमिनुले उक्त गीत गत मार्चमा ‘ह्वाट्स्एप’ मार्फत फैलाएको भन्दै हाउसावा फिलिन हक्की क्षेत्रको उच्च अदालतले दोषी ठहर गरेको हो। अमिनुले आफूविरुद्धको आरोप अस्वीकार गरेका छैनन्।
अदालतका न्यायाधीश खादी अलियु मुहम्मद कानीले उक्त फैसलाविरुद्ध अमिनु अपिलका लागि जान सक्ने जनाएका छन्। नाइजेरियाको मुस्लिम बाहुल्य उत्तर क्षेत्रमा शारिया र धर्म निरपेक्ष दुवै कानून प्रचलनमा छन्। शारिया कानून भने गैरमुस्लिम समुदायमा लागू हुँदैन।
गायक अमिनु अहिले प्रहरी हिरासतमा छन्। उनी गत मार्चमा नै पक्राउ परेका हुन्। उक्त गीत प्रचारसँगै तीव्र विरोध पनि शुरु भएपछि उनी लुकेका थिए।
प्रदर्शनकारीहरुले उनको घरमा आगो लगाएका थिए। त्यस्तै हिस्बाह भनिने इस्लामिक पुलिसको मुख्यालय अगाडि प्रदर्शन गर्दै अमिनुविरुद्ध कारबाहीको माग पनि गरेका थिए।
आलोचकहरुका अनुसार उक्त गीतमा तिजानिया मुस्लिमका एक इमामको प्रशंसा गरिएको छ। उनलाई महम्मदभन्दा माथि राखिएको छ।
-बीबीसीबाट