कपिलवस्तुमा भोलिदेखि बन्दाबन्दी
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाभित्रका सम्पूर्ण गतिविधिमा कडाइ गरेको छ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सोमबार जारी गरेको सूचना अनुसार, भोलिदेखि जिल्लाभित्र गुड्ने सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
तर, एम्बुलेन्स, ग्यास, औषधि, फलफूल, दूध, पेट्रोलियम पदार्थ र पशुपक्षीको दाना वोक्ने सवारी साधन गुड्नलाई रोक लगाइएको छैन। कपिलवस्तु भएर राजमार्गमा गुड्ने सवारी साधनमा प्रतिबन्ध लगाइएको छैन, तर त्यस्ता सवारी साधनले जिल्लाभित्र रोक्न र मानिस चढाउने र ओराल्ने गर्न पाउने छैनन्।
व्यापार व्यवसाय, चिया पसलदेखि रेष्टुरेण्ट र होटल व्यवसाय सञ्चालनमा समेत प्रतिबन्ध लगाइएको छ। सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु समेत बन्द गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डभित्र भने उद्योगधन्दा सञ्चालन हुन सक्ने जनाइएको छ। यो प्रतिबन्ध ३२ साउनसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।