१५ भदौअघि हवाई उडान र यातायात नखोल्ने सरकारको निर्णय, सीमामा थप कडाइ
सरकारले लामो दूरीका यातायात र हवाई उडानलाई १५ भदौसम्म नखोल्ने निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यसअघि ५ साउनमा गरेको १ भदौदेखि हवाई उडान लगायतका क्षेत्र खोल्ने भनेर गरेको निर्णय संक्रमण बढेको निष्कर्षसहित तत्काल लागू नगर्ने निर्णय गरेको हो।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको सिफारिस अनुसार सरकारले ५ साउनको मन्त्रिपरिषद बैठकबाट विद्यालय भर्ना, आन्तरिक तथा बाह्य उडान, लामो दूरीका यातायात तथा विभिन्न खालका व्यवसायहरूलाई १ भदौदेखि खोल्ने निर्णय गरेको थियो।
सीसीएमसीकै सिफारिस अनुसार सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट यसलाई पछि सार्ने निर्णय गरेको कृषि मन्त्री घनश्याम भुसालले बताए।
"सीसीएमसीको सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय भयो," भुसालले हिमालखबरसँग भने, "त्यो महीनाभरी नै नखुल्ने पनि हुनसक्छ।"
पछिल्लो समय उपत्यकालगायत देशका विभिन्न जिल्लामा कोरोना संक्रमणको संख्या बढेपछि सीसीएमसीको आइतबार बसेको बैठकले केही समयका लागि स्थगित गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो।
सोही अनुसार मन्त्रिपरिषद बैठकले कम्तिमा १५ भदौसम्मका लागि पुरानो निर्णयलाई कार्यान्वयनमा नल्याउने निर्णय गरेको हो।
त्यसैगरी संक्रमण रोक्न अन्तर्राष्ट्रिय सीमानाकामा आवतजावत थप कडाइ गर्ने निर्णयसमेत सरकारले गरेको छ।