कोरोना अपडेट: संक्रमित हुनेमा अधिकांश पुरुष
नेपालमा कोरोना भाइरसबाट सबैभन्दा बढी पुरुष संक्रमित भएका देखिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोनाबाट महिलाभन्दा धेरै पुरुष संक्रमित भएको देखिएको हो।
मन्त्रालयको २६ साउनसम्मको तथ्यांक अनुसार कोरोना संक्रमित हुने पुरुषको संख्या १९ हजार ५९४ छ। तर संक्रमित हुने महिलाको संख्या भने तीन हजार ७१६ छ।
२६ साउनसम्ममा कोरोना संक्रमित हुने संख्या २३ हजार ३१० पुगेको छ। यीमध्ये १६ हजार ४९३ निको भइसकेका छन् भने ७९ जनाको मृत्यु भएको छ।
महामारी शुरु भएपछि विदेशबाट फर्किनेहरूमा धेरै पुरुष भएको र उनीहरूमध्ये अधिकांश संक्रमित भएर स्वदेश फर्किएकाले संक्रमित हुने महिलाको संख्या कम भएको देखिन्छ।
विदेशबाट आएका संक्रमितबाट एकपछि अर्को गर्दै संक्रमण परिवारहुँदै समुदायसम्म फैलिएको देखिएको छ। यसअघि २५ साउनसम्मको तथ्यांक अनुसार कुल संक्रमित २२ हजार ९७२ मध्ये ८४ प्रतिशत पुरुष संक्रमित छन्। यसअनुसार १९ हजार ३३१ जना पुरुष संक्रमित भएका छन्। संक्रमित हुने महिलाको संख्या १६ प्रतिशत अर्थात ३ हजार ६४१ मात्र छ।