कोरोनाका कारण उपत्यकामा २ सहित थप ४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना काठमाडौं उपत्यकाका रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोहोलपुर लगरपालिकाकी ७० वर्षीया एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनी गएको २३ गते अस्पताल भर्ना भएकी थिइन्। उनलाई उच्च रक्तचापको समस्या थियो।
त्यस्तै अर्को पर्साको वडा नम्बर १५ की ४५ वर्षीया एक महिलाको नारायणी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
त्यस बाहेकका २ जना मृतक काठमाडौंका छन् । मध्येबानेश्वर बस्ने ७६ वर्षीय एक पुरुषको मेडिकेयर अस्पतालमा २६ साउनको बिहान मृत्यु भएको मन्त्रालयले जनाएको छ।
साथै कीर्तिपुरको ट्यांगलाफाट बस्ने ६४ वर्षीय एक पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ।