ब्यांकका कर्मचारीलाई घरबाटै काम गराउन निर्देशन, विद्युतीय कारोबारलाई प्रोत्साहन
नेपाल राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीलाई आलोपालो प्रणालीमा काम लगाउन र घरबाटै काम गराउन निर्देशन दिएको छ।
कोभिड–१९ को जोखिम बढ्दै गएकाले यसको न्यूनीकरण गर्न तथा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि घरैबाट काम गर्ने व्यवस्था मिलाउन राष्ट्र ब्यांकले २५ साउनमा सबै ब्यांक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। राष्ट्र ब्यांकले जोर/बिजोर प्रणाली कार्यान्वयन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।
नेपाल सरकारबाट जारी स्वाथ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्दै हाल दिइँदै आएको सेवा प्रवाहलाई निरन्तरता दिन बिजनेश कन्टिन्युटी प्लान तयार गर्न पनि निर्देशन दिएको छ।
ब्यांक तथा वित्तीय संस्थाका प्रादेशिक शाखा कार्यालयलाई पनि न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गर्ने वा वैकल्पिक रुपमा आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि ब्यांकले आग्रह गरेको छ।
कोभिडको जोखिम पछिल्ला दिनमा बढेसँगै विभिन्न स्थानमा गरिएको बन्दाबन्दी, निषेधाज्ञा, सवारी साधनको आवागमनमा जोर/बिजोर प्रणाली लागू सहितका संक्रमण न्यूनीकरणको प्रयास भइरहेको छ।
राष्ट्र ब्यांकले पनि संक्रमण न्यूनीकरणको प्रयासकै लागि ब्यांक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको छ । सेवा निरन्तर नगरिएका शाखाहरुको विवरण दैनिक रुपमा राष्ट्र ब्यांकमा रिपोर्टिङ पोर्टल मार्फत जानकारी दिने र विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्न पनि केन्द्रीय ब्यांकले निर्देशन दिएको छ।