अब ग्राहकको घरमा बिजुलीको 'स्मार्ट मिटर', रिडिङ गर्नु नपर्ने
नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिङ्गल फेज मिटर हटाई स्मार्ट मिटर जडान गर्न शुरु गरेको छ। मुलकभर हाल करीब ५० लाख सिङ्गल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्र अन्तर्गतका ग्राहकहरुको सिङ्गल फेज र थ्री फेज गरी करीब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने योजना छ।
स्मार्ट मिटर प्रयोगमा आएपछि कर्मचारीले ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने छैन। कार्यालयमा बसेरै विद्युत् प्राधिकरणका कर्मचारीले ग्राहकको घरमा खपत भएको विद्युत्को अनुगमन गर्न सक्नेछन्। विद्युत् खपतको डाटा केन्द्रीय प्रणालीमा समेत प्रसारण हुने भएकाले केन्द्रबाटै मिटर रिडिङ गर्न सकिने र विद्युत् महशुल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन मार्फत काट्न सकिनेछ।
यसबाट विद्युत् चुहावट समेत नियन्त्रण हुने प्राधिकरणले जनाएको छ। कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजे त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुनेछ।
स्मार्ट मिटरमा पिक, अफ पिक र नर्मल समय अनुसार फरक–फरक महशुल तोक्न सकिनेछ। जस्तै, वर्षायाममा बढी विद्युत् उत्पादन भएको बेला सस्तोमा र हिउँदमा महँगोमा विद्युत् बिक्री गर्न मिल्छ। स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकले इच्छा अनुसार पोष्टपेड र प्रि-पेड भुक्तानी गर्न सक्नेछन्। ग्राहकले जुनसुकै ठाउँबाट अनलाइन बिल भुक्तानी गर्न सक्ने प्राधिकरणले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिङ्गल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको थालनी गरेका छन्। मन्त्री पुनले संघीय राजधानी लगायत मुलुकका मुख्यमुख्य शहरमा विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी शहरी सौन्दर्य बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम समेत गरिरहेको जानकारी दिए।
स्मार्ट मिटर जडानको शुरुआतसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा यो योजना कार्यान्वयन भएपछि २ हजार ५०० देखि ३ हजारसम्म कर्मचारीमा भइरहेको खर्च कटौती हुने बताए।
प्राधिकरणले पहिलो चरणमा देशभरका ८ हजार २२२ टीओडी (टाइम अफ डे) मिटरहरुलाई स्मार्ट बनाइसकेको छ। दोस्रो चरणमा देशभरका करीब १ लाख २५ हजार थ्री फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिरहेको छ।
यो परियोजनामा एसियाली विकास ब्याङ्कले सहुलितपूर्ण ऋण दिएको छ।
काठमाडौं उपत्यकामा हाल रहेका करिब ४ लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ।