मेडिकल कलेजले महामारीको समयमा फोन गरेर शूल्क मागेको भन्दै संघर्ष समितिको विरोध
मेडिकल कलेजहरूले विद्यार्थी र अभिभावकलाई फोन गरेर महामारीको समयमा पनि शूल्क माग गरेको र धम्की दिएको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिले विरोध गरेको छ।
समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले शनिवार एक विज्ञप्ति जारी गर्दै महामारीको समयमा शूल्क संकलनका लागि जबर्जस्ती नगर्न र डीन कार्यालयले तोकेको भन्दा बढी शूल्क नबुझाउन विद्यार्थी र अभिभावकलाई अपील गरेको छ।
महामारीको विषम परिस्थितिमा पनि मेडिकल कलेजका माफियाहरूले अनावश्यक ढंगले विभिन्न शूल्कहरू (बैड, ल्याब, ओपीडी) चरम रुपमा बढाएकको तर अस्पतालमा कार्यरत कर्मचारीलाई कुनै सेवा, तलब, भत्तामा वृद्धि नगरेको भन्दै समितिले विरोध जनाएको छ।
साथै कोरोना संक्रमित बिरामी अस्पतालमा आउँदा अन्य बिरामीको संख्या घट्ने र भनेजति पैसा कमाउन नपाउने भन्ने मनस्थितिले संक्रमितले केही मेडिकल कलेजमा मृत्युवरण गर्नुपरेको घटनाप्रति राज्यको ग्म्भीर ध्यानाकर्षण गराउन चाहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
"मेडिकल कलेजका मालिकहरूले यस्तो आर्थिक जटिल परिस्थितिमा विद्यार्थीहरू र अभिभावकहरूलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्यप्रति हाम्रो संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ। प्रथमत: सबै विद्यार्थी, संकाय र वर्षका विद्यार्थीहरूको अतिरिक्त शूल्क समायोजन गरेको विषयलाई सूचना र सम्झौतामार्फत जानकारी गराई चोरी गरेजसरी हैन, नैतिकतासहित विश्वविद्यालय वा डीनको कार्यालयले तोको आधिकारिक शूल्क बुझाउन निम्ति अपील गर्दछौं," विज्ञप्तिमा भनिएको छ।