सम्पादकको सिफारिश : सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड–१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ।
'सम्पादकको सिफारिश: सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं। हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आँकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. उपत्यकामा कोरोना संक्रमितको संख्या १००० नाघ्यो !
२४ साउनमा उपत्यकामा मात्र कोरोना भाइरस संक्रमितको संख्या एक हजार ४४ पुगेको छ । हालसम्म देशभर २२,५९२ संक्रमित फेला परेकोमा ७३ जनाको मृत्यु नै भइसकेको छ । ११ चैत २०७६ मा घोषित बन्दाबन्दी ७ साउनमा अन्त्य गरिएपछि उपत्यकामा संक्रमणको दर बढिरहेको छ । यसबीचमा सरकारले पुनः सवारीसाधनमा जोर–विजोर प्रणाली लागू गर्दै सार्वजनिक गतिविधिमा कडाइ गरेको छ । तर, तत्काल ठोस कदम नचालिए स्थिति भयावह हुने जोखिम देखिएको छ।
२. आना स्टरः नेपाली लोकसंगीतकी अमेरिकी अध्येता
आना स्टर अमेरिकाको हवाई राज्यमा बस्छिन्, जहाँबाटै हवाइन गिटार विस्तार भएको मानिन्छ। तर, उनको कोठामा हरपल गिटारका धुन होइन, झण्डै साढे आठहजार माइल टाढा नेपालका कुनाकन्दरा, भीरपाखा, खेत–खलियान र नदीकिनाराका मौलिक लोकधुन बजिरहन्छ। उनको तनमन यिनै लोकसंगीतका बहुआयाममा लीन रहन्छ। लोकसंगीतकी अध्येता आना स्टर बारे अमेरिकामै रहेका पत्रकार गोपाल गड्तौलाको व्यक्तिवृत ।
३. ‘देखाउने दाँत’ मात्र बनेका छन् वातावरण संरक्षणका ऐन र नियम
वातावरण संरक्षणका लागि सरकारले दर्जनौं ऐन, नियम र मापदण्ड बनाएको छ। तर, तिनकै कार्यान्वयन फितलो हुँदा पर्यावरण र वातावरणमा संकट थपिइरहेको छ। – रमेश कुमारको रिपोर्ट।
४. नीति निर्माता तहमा बिचौलियाको पहुँच
उच्च राजनीतिक सेटिङमा बजारमूल्य भन्दा दशौं गुणा बढी तर कमसल स्वास्थ्य समाग्री खरीद गरेको ओम्नी समूह र सरकारका अख्तियारवाला अधिकारीमाथि अविलम्ब छानविनको संसदीय समिति, नागरिक समाजदेखि युवा समूह (इनफ इज इनफ) बाट माग हुँदा समेत प्रम स्वयं कारबाहीको आम अपेक्षा विपरीत ओम्नी र सम्बद्ध पदाधिकारीहरूको बचाउमा उत्रिएका छन्। अनियमितता, कमिसनखोरी र लेनदेनमा आरोपितहरू कानूनको कठघरामा नभएर बालुवाटार र सिंहदरबारका भित्री कोठा र बैठकमा बग्रेल्ती देखिनुले उनीहरूलाई कसले संरक्षण दिंदै आएको छ, त्यो प्रष्ट छँदैछ। – शेखर खरेलको सामयिक टिप्पणी ।
५. एक्यापमा के हो केन्द्र सरकारको स्वार्थ, किन भइरहेको छैन समुदायमा हस्तान्तरण ?
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को व्यवस्थापन समुदायलाई हस्तान्तरण प्रक्रिया शुरू गर्ने कुरा उठ्न थालेको डेढ दशकभन्दा बढी भइसकेको छ। तर, कहिले तयारी नपुगेको त कहिले विभिन्न बहानामा सरकारले हस्तान्तरणमा ढिलाइ गर्दै आएको छ। किन त ? – मुकेश पोखरेलको रिपोर्ट।
६. अनशनको सन्देश र अनशनकारीलाई सन्देश
कोरोनाभाइरस संक्रमणको महामारी विरुद्ध लड्न सरकारले गरिरहेका गतिविधि विरुद्ध आमरण अनशन बसेका तीन युवामध्ये दुई जनाले स्वास्थ्य जटिल बनेपछि अनशन तोडेका छन् भने एक जना आज २० औं दिनको अनशनमा छन्। हामी अनशनकारी अधिकारी लगायतको जीवनरक्षाका निम्ति सरकारलाई उनीहरुले उठाएका माग पूरा गर्न आग्रह गर्दछौं। कोभिड–१९ विरुद्ध सरकारको प्रभावकारी र पारदर्शी पहल माग गरेर आमरण अनशनमा बसेका युवाको मागप्रति हाम्रो पूर्ण समर्थन छ, तर माग पूरा गराउन ज्यान जानेगरिको यो तरिकासँग सहमत हुन सकिन्न। – किरण नेपालको सम्पादकीय ।
७. क्यान्सरको औषधि लौठसल्लामा विज्ञहरुकै 'लपनछपन'
विश्वभर लौठसल्लाका १२ प्रजाति छन् । तीमध्ये नेपालमा ट्याक्सस् वालिचियना, ट्याक्सस् कन्टोर्टा र ट्याक्सस् माइरेई पाइने सरकारी दस्तावेजमै उल्लेख छ। ‘नेपालको लौठसल्ला’ पुस्तक अनुसार मकवानपुर, ललितपुर, सिन्धुली, काभ्रे जिल्लामा लौठसल्लाको ट्याक्सस् माइरेई प्रजाति पाइन्छ। यही प्रजातिको पात क्यान्सर रोग उपचारको औषधि निर्माणमा प्रयोग हुन्छ । र, यसैका लागि झण्डै तीनचार दशकदेखि नेपालबाट निर्यात भइरहेको छ। – कमल मादेनको विशेष टिप्पणी ।
८. दाहाल–नेपाल समूहको मूडस् पार्टी विभाजन गर्न खोजे ओलीलाई नरोक्ने !
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला १३ साउनदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चित बनेको छ। १८ साउनदेखि वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साक्षी राखेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भइरहेको छलफल समेत निष्कर्षमा पुग्न सकेको छैन। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनतर्फ लागेको आरोप लगाउँदै त्यसका लागि तयार रहेको संकेत गरेका छन्। – सइन्द्र राईको रिपोर्ट।
९. बेरुतको विस्फोटमा नेपालीले जे देखे
वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूको गन्तव्यमध्ये एउटा हो, लेबनान। लेबनानको राजधानी बेरुतमा मात्रै २२ सयभन्दा धेरै नेपालीहरू रहेको अनुमान गरिएको छ। त्यही बेरुतमा २० भदौमा एमोनियम नाइट्रेट विष्फोट हुँदा कम्तीमा १०० को मृत्यु र ४ हजारभन्दा धेरै घाइते भएका रिपोर्टहरू सार्वजनिक भइरहेका छन्। बेरुत विस्फोट बारे त्यहाँ कार्यरत् नेपालीको अनुभव समेटिएको सामग्री।
१०. बन्दाबन्दीको भयावह असर: नेपालमा एक चौथाइ श्रमिकले गुमाए रोजगारी
कोभिड–१९ को संक्रमण विस्तार रोक्न लगाइएको बन्दाबन्दीपछि करीब एक चौथाइ कामदारले रोजगारी गुमाएको नयाँ अध्ययनले देखाएको छ। नेपाल राष्ट्र ब्यांकले गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार, देशका उद्योग व्यवसायले करीब २२.५ प्रतिशत कामदार कटौती गरेको देखिएको हो। राष्ट्र ब्यांकले ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीसँग गरेको सर्वेक्षणका आधारमा निकालिएको निष्कर्षअनुसार, होटल र रेस्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी कटौती गरेका छन्। एक समाचार ।
११. राम नाम हिन्दूत्व र 'पाशुपत क्षेत्र' नेपाल
जब धर्म र राजनीतिलाई मिसाएर भोट मागिन्छ, लोकतान्त्रिक मूल्य गुम्न जान्छ र समाजको सबैभन्दा कमजोर तप्कालाई असुरक्षित बनाउँछ, जसरी भारतमा ‘राम नाम हिन्दूत्व’ ले गरिरहेछ। आज ५ अगस्टका दिन भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास भयो पुरातात्विक बाबरी मस्जिद उभिएको स्थलमा। नेपाल राज्य र समाज तयार हुनुपर्छ, कुनै पनि खालको अन्तरसामुदायिक विग्रह सिमाना नकटोस्, न त भारतमा जस्तो धर्म मिसिएको राजनीति नै। – कनकमणि दीक्षितको स्तम्भ 'उकालो लाग्दा' ।
१२. नेपाल ऋणको चङ्गुलमा फस्दै !
विश्व ब्यांकले आगामी आर्थिक वर्षमा ऋणको साँवाको किस्ता र ब्याज तिर्न मात्रै नेपालको डेढ खर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरेको छ। सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको अनुपात झण्डै ५० प्रतिशत नाघ्ने जोखिमले कोभिड–१९ महामारीको संकटमोचनपछि पनि देशले अर्को लामो लडाइँ लड्नुपर्ने देखाएको छ। – रमेश कुमारको रिपोर्ट।
१३.एसिड आक्रमणका पीडितहरुको पीडा–जिन्दगीभरि उपचार गर्ने खर्च कसरी जुटाउनु ?
एसिड आक्रमणको घटना भइरहेकाले एसिडबारे समग्र पक्षको एक अध्ययन अनुगमन गर्न महान्यायाधिवक्ताको कार्यालयले समिति गठन गरेको छ। गएको आइतबार महान्यायाधिवक्ता अग्नि खरेल समेतको उपस्थितमा भएको बैठकले नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाको नेतृत्वमा समिति बनाएको हो। सरकारी तथ्यांक अनुसार २० जना एसिड आक्रमणबाट पीडित मध्ये १८ महिला र दुई पुरुष छन्। महिलामध्ये धेरै किशारी छन्। पीडितहरुले एसिड आक्रमण गर्नेलाई जन्मकैद वा आजीवन कैदजस्ता कडा सजाय हुनुपर्ने माग गरेका छन्। – लक्ष्मी बस्नेतको रिपोर्ट।
१४. यसरी सफल भयो कोरोना संक्रमितको पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार
मुलुकमा पहिलोपटक कोरोना संक्रमित बिरामीको प्लाज्माथेरापी विधिबाट गरिएको उपचार सफल भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका मोरङका ६० वर्षका कोरोना संक्रमणबाट सिकिस्त एक पुरुषको प्लाज्मा थेरापी विधिबाट गरिएको उपचार सफल भएको हो। अहिले कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा लाग्ने खर्च नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेहोर्दै आइरहेको छ। तर यसका लागि आवश्यक पहिले निको भइसकेका कोरोना संक्रमितले दिने रगतको व्यवस्थापन भने गर्नुपर्छ। – रामु सापकोटाको रिपोर्ट।