एयर इन्डिया एक्सप्रेसको बोइंग विमान केरलाको कालीकटमा दुर्घटना
एयर इन्डिया एक्सप्रेसको बोइंग विमान केरलाको कालीकटमा दुर्घटनामा परेको छ। बोइंग- ७३७ विमान चालक दलसहित १९१ यात्रु लिएर दुबईबाट आएको थियो।
कालीकट विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको बीबीसीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार दुई जनाको निधन भएको र ४० जना घाइते भएको हिन्दुस्तान टाइम्सले छापेको छ।
विमान दुई टुक्रा भएको छ। भारतीय समयअनुसार साँझ ७ बजेर ३८ मिनेट जाँदा बिमान दुर्घटनामा परेको हो।
अवतरणका क्रममा रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ। उक्त समयमा त्यसक्षेत्रमा ठूलो वर्षा भइरहेको थियो।
दुर्घटनामा परे पनि विमानमा आगलागि भने भएन। भारतीय नागरिक उड्डयनका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले अवतरणको समयमा भिजिवलिटी २००० मिटर रहेको उल्लेख गरेको छ।
विमानको यो उडान 'बन्दे भारत मिसन' अन्तरगत थियो। भारतले कोभिड-१९ महामारीमा विदेशबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउन यस्तो मिसन चलाएको छ।