भारतीय रेलवेजले गर्दै आएको वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थापन अब प्रिस्टिन भ्यालीले गर्ने
वीरगञ्ज आन्तरिक सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रिस्टिन भ्याली ड्राइ पोर्ट प्रालिले पाएको छ। शुरुवातदेखि नै यो बन्दरगाहको व्यवस्थापन र सञ्चालन भारतीय रेलवे अन्तर्गतको कन्नकोर रेलवेजले गर्दै आएको थियो । यो कम्पनीले स्थानीय साझेदार हिमालयन टर्मिनल प्रालि मार्फत काम गर्दै आएको थियो।
१६ वर्षअघि सञ्चालनमा आएको यो बन्दरगाहको व्यवस्थापन पहिलो पटक निजी साझेदारको जिम्मामा पुगेको सुक्खा बन्दरगाहको नियामक नेपाल यातायात विकास निगमका निर्देशक हेमेन्द्रमोहन शाहीले बताए । उनले यो बन्दरगाहले नेपालको कन्टेनर यातायातको आधा हिस्सा व्यवस्थापन गर्ने गरेको पनि जानकारी दिए।
पर्साको सिर्सियामा रहेको ३८ हेक्टरमा फैलिएको बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रिस्टिन भ्याली ड्राइ पोर्टले शुक्रबारबाट सम्हालेको छ । २०६१ सालदेखि सञ्चालनमा रहेको यो सुक्खा बन्दरगाहकाे ४ हजार ५ सय वटा कन्टेनर व्यवस्थापन र भण्डारण गर्ने क्षमता छ । भारतको काेलकाता र विशाखापटनम बन्दरगाहबाट रक्सौल हुँदै सोझै वीरगञ्ज सुक्खा बन्दरगाहसम्म भारतीय मालवाहक रेल मार्फत सामान ल्याइन्छ।
कोरोना भाइरसका कारण अहिले बन्दरगाह कुल क्षमताको ३५ प्रतिशत हाराहारीमा मात्र सञ्चालनमा रहेको नेपाली साझेदार भ्याली टर्मिनल्सका निर्देशक माधव बरालले बताएका छन् । उनी सडकमार्ग मार्फत भइरहेको आयात र निर्यातलाई रेल मार्फत सुक्खा बन्दरगाहमा ल्याउन पहल गर्ने र नेपालभित्रको वितरण एवं व्यवस्थापनलाई थप चुस्त पारिने बताउँछन्।
प्रिस्टिन भ्यालीको भारतीय साझेदार प्रिस्टिन मेगालजिस्टिक्स पार्कले आफ्नै ३५ वटा कन्टेनर रेल मार्फत भारतका लुधियाना, कानपुर, सिलिगुढी, पटना लगायतका स्थानमा आन्तरिक क्लियरेन्स डिपो सञ्चालन गर्दै आएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली साझेदार ‘भ्याली टर्मिनल्स’ कुखुराजन्य उत्पादन र वितरणमा पकड भएको भ्याली ग्रुप अन्तर्गतको भगिनी कम्पनी हो।