प्रधानमन्त्री ओलीले दिए राजापाक्षलाई बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजापाक्षलाई उनको पार्टी एसएलपीपीले संसदीय निर्वाचनमा अत्यधिक बहुमतले विजय हासिल गरेकोमा बधाई दिएका छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार टेलिफोन मार्फत बधाई दिँदै यसपछि दुई मुलुकबीचको सम्बन्ध थप सुमधुर हुने अपेक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कुराकानीमा कोभिड-१९ नियन्त्रणको अनुभवबारे पनि छलफल भएको थियो। साथै महामारी नियन्त्रण भएपछि दुवै देशले एकअर्को मुलुकमा उच्च तहको भ्रमण गर्ने बारे पनि छलफल भएको परराष्ट्रले जनाएको छ।
राजापाक्षको पार्टीलाई अत्यधिक बहुमत
श्रीलंकामा राष्ट्रपति गोटाबय राजापाक्षको पार्टी श्रीलंका पदुजना पार्टीले संसदीय निर्वाचनमा अत्यधिक बहुमतसहित विजय हासिल गरेको छ।
शुक्रबार सार्वजनिक भएको संसदीय निर्वाचनको नतिजामा राजापाक्षको पार्टीले करीब ७५ प्रतिशत सिटमा जित हासिल गरेको जनाइएको छ।
संसदका कुल २२५ सिटमध्ये राजापाक्षको पार्टीले १४५ सिट जितेको छ। उनको दलसँग सहकार्य गर्ने अन्य दलले पाँच स्थानमा जितेका छन्।
अघिल्लो चुनावमा १०६ मध्ये १०५ वटा सिट जितेको पूर्वप्रधानमन्त्री रनिल विक्रमसिङ्घे नेतृत्वको प्रतिपक्षी दल यूनाइटेड नेशनल फ्रन्ट भने पराजित भएको छ।
निर्वाचनपछि राष्ट्रपति गोटाबयले गएको नोभेम्बरदेखि कामचलाउ सरकारको नेतृत्व गरिरहेका आफ्नै दाजु महिन्द्रा राजापाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने अनुमान गरिएको छ।
महिन्द्रा राजापाक्ष सन् २००५ देखि २०१५ सम्म श्रीलंकामा राष्ट्रपति थिए।