कोरोना अपडेट: २१ देखि ३० वर्ष उमेर समूहका संक्रमितको संख्या सबैभन्दा धेरै
मुलुकमा २१ देखि ३० वर्ष उमेर समूहका कोरोना संक्रमितको संख्या अरू उमेर समूहको तुलनामा धेरै देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २१ देखि ३० वर्ष उमेर समूहका कोरोना संक्रमितको संख्या १० दिनको अन्तरमा मात्रै करिब एक हजारले बढेको देखिएको हो।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ मार्फत बिहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा २१ देखि ३० वर्षसम्मका कोरोना संक्रमितको सख्या ८११३ पुगेको छ। यो तथ्यांक २० साउनसम्म ७८५१ थियो।
यो अन्य उमेर समूहको तुलनामा सबैभन्दा धेरै संक्रमितहरूको संख्या हो। तथ्यांक अनुसार दुई दिनको अन्तरमा मात्रै यो उमेर समूहका थप २६२ जना कोरोना संक्रमित थपिएका छन्।
यो संख्या १८ साउनमा ७६०८, १६ साउनमा ७४१९ र आजभन्दा १० दिनअघि अर्थात, १२ साउनमा यो संख्या ७०३० थियो। यसअघि १ साउनसम्म यो उमेर समूहका कोरोना संक्रमितको संख्या ६४९१ थियो।
त्यस्तै, हालसम्म ३१ देखि ४० वर्ष उमेर समूहका कोरोना संक्रमितको संख्या ५१९० छ।