संघीय संसद सचिवालयका प्रवक्तालाई कोरोना संक्रमण, भन्छन्– ‘शुरुमा ज्वरो आयो, पुष्टि भएपछि स्वास्थ्यमा समस्या छैन’
संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ। सार्वजनिक लेखा समितिले गठन गरेको संसदीय अनुगमन टोलीमा रहेका पाण्डेको आज बिहान पोजेटिभ रिपोर्ट आएको हो।
प्रवक्ता पाण्डेले आफूलाई शनिबारदेखि सोमबारसम्म टाउको दुख्ने, ज्वरो आउने र पखाला लागेपछि परीक्षणको लागि स्वाब दिएको बताए। कोरोना संक्रमण पुष्टि भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले हिमालखबरसँग बताए। प्रवक्ता पाण्डेसँग गरिएको कुराकानीको अंश:
मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिएको थिएँ, आज बिहान रिपोर्टमा पोजेटिभ देखियो।
अनुगमनका क्रममा माननीयज्यूहरूको टोलीमा म पनि थिएँ। अवस्था जोखिमपूर्ण भए पनि सतर्कता अपनाएरै हिंडेका थियौं। तर शुक्रबार बेलुका माननीय प्रदीप यादवज्यूलाई संक्रमण पुष्टि भएको थाहा भयो। हामी शनिबार काठमाडौं आइपुग्यौं।
त्यही बेलुकादेखि टाउको दुख्ने, ज्वरो आउने र डायरिया भयो। ठीक भइहाल्छ होला भनेर सामान्य औषधि खाएर बसेँ।
मंगलबार ठीक त भएको थियो तर शंका लागेर पीसीआर परीक्षण गराएँ। आज बिहान रिपोेर्ट पोजेटिभ आयो। मंगलबारपछि भने मलाई केही भएको छैन। टाउको दुख्ने, ज्वरो आउने र डायरिया निको भइसकेको छ। अहिले त्यस्तो लक्षण केही पनि छैन।
त्यसैले चिकित्सकसँगको सल्लाहमा घरमै आइसोलेसनमा बस्दा हुन्छ भनेपछि घरमै बसेको छु। हामीसँगै गएकामध्ये माननीय प्रदिप यादव, उहाँको पीएसओ, चालक र मलाई पोजेटिभ देखियो। अरुको रिपोर्ट नेगेटिभ आयो।
र बर्दिबासको एक होटेलमा हामी बास बसेका थियौं। बेलुका खाना खाइसकेपछि माननीयज्यू (प्रदिप यादव) सँग कुराकानी गरेर बसें। उहाँको पीएसओ र ड्राइभर पनि हामीसँगै हुनुहुन्थ्यो। कुराकानी गर्दा दूरी कायम त गरेका थियौं, तर कुनै बेला मास्क खोल्ने गरिँदो रहेछ। तराइमा गर्मी एकदम भएर पनि मास्क लगाइराख्न गाह्रो भएर खोलिहाल्ने हुँदोरहेछ।
अर्को कुरा, दुई जनाबीच कुरा हुँदा फेस टु फेस पनि भइयो। उहाँलाई त्यो बेला नै लक्षण देखिइसकेकाले मलाई त्यहीबेला नै सरेको हुन्सक्छ।
आफूलाई संक्रमण भयो भन्ने चिन्ताभन्दा पनि आफन्त तथा चिनेजानेका साथीहरूले धेरै फोन गरिराख्नु भएको रहेछ। शुरुमा लक्षण देखिए पनि अहिले केही लक्षण पनि छैन र म सामान्य अवस्थामै छु, स्वास्थ्य सतर्कता अपनाएर बस्दा चाँडै ठिक हुन्छ भन्ने लागेको छ।