सेनाले इन्डोनेशियाबाट किनेको जहाज अब नियमित उडानमा
नेपाली सेनाले करीब ९ महीनाअघि इन्डोनेशियाबाट ल्याएको जहाजले अब नियमित उडान गर्ने भएको छ। सैनिक मुख्यालय (जंगी अड्डा)ले यो जहाजले १०० घण्टाको तालीम र ‘सेड्युअल्ड फ्लाइट’ पूरा गरेको उल्लेख गर्दै अब यसले नियमित उडान शुरु गर्ने जनाएको छ।
कार्गो जहाज भए पनि थुप्रै प्रयोजनमा लगाउन सकिने इन्डोनेशियामा निर्मित सीएन २३५–२२० जहाज गत १६ कात्तिकमा नेपाल भित्रिएको थियो।
इन्डोनेशियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले बनाएको यो जहाजका लागि सेनाले २०१७ जुनदेखि पहल अघि बढाएको र करीब रु.३ अर्बमा खरीद गरेको हो।
सैनिक प्रवक्ता, सहायकरथी सन्तोष बल्लभ पौडेलले १०० घण्टाको तालीम र सेड्युअल्ड फ्लाइट पूरा गरेकाले अब तीन दिन यसको ‘सेड्युअल्ड मेन्टेनेन्स’मा रहने र लगत्तै नियमित उडान शुरु गर्ने बताए।
“यसले कार्गो बोक्ने, यात्रु ओसार्ने र भीआईपी उडान गर्नेदेखि हाम्रो ‘प्यारा फौज’लाई झार्ने काम पनि गर्छ”, सैनिक प्रवक्ता पौडेलले भने, “यसको मल्टिपल युज गर्न सकिन्छ।”
सेनाले त्यसबेला विपतका बेला उद्धार कार्य प्रभावकारी बनाउन यो जहाज खरीद गरिएको जनाएको थियो।
“तत्कालको आवश्यकता हेरी यसलाई जुनसुकै प्रयोजनमा पनि लगाउन सकिन्छ”, पौडेलले भने, “अहिले धेरै फौज लकडाउनले गर्दा एक ठाउँमा खुम्चिएको छ, तालीम सकेका हाम्रा क्याडेटदेखि अरु फौज अड्केका छन्। तिनलाई सम्बन्धित ठाउँमा लैजानुपर्ने छ। यसका लागि पनि जहाजको प्रयोग गर्छौं।”
सेनाले इन्डोनेसियाबाट जहाज भित्र्याएको लामो समय बित्दासम्म सञ्चालनमा नआएपछि यसबारे अनेक प्रश्न उठेका थिए। “प्रयोगमा आएन भन्ने गुनासो उठ्यो, अब हामी प्रयोग गर्न तयार भयौं”, पौडेलले भने, “कन्ट्रयाक्टरले ल्याउनुपर्ने पार्ट्सहरु समयमै नआइपुगेकाले केही ढिलाइ भएको हो। पार्ट्सहरु उपलब्ध भएपछि हामीले स्वामित्व पनि आफूमा ल्यायौं । अनि तालीम र फ्लाइटहरु गरेर उड्न तयार पार्य।”