बेरुत विष्फोटको घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले लेबनानको राजधानी बेरुतमा भएको विष्फोटप्रति दु:ख व्यक्त गरेकी छन्। बिहीबार लेबनानका राष्ट्रपति माइकल औनलाई समवेदना सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले विष्फोटबाट भएको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेकी हुन्।
सन्देशमा राष्ट्रपति भण्डारीले लेबनानको सरकार र त्यहाँका नागरिकप्रति सहानुभूति, मृतकप्रति समवेदना र यस दु:खद घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बेरुतमा मंगलबार एमोनियम नाइट्रेट विष्फोट हुँदा मृत्यु हुनेको संख्या कम्तीमा १५७ र ५ हजारभन्दा धेरै घाइते भएका रिपोर्टहरू सार्वजनिक भइरहेका छन्।
विष्फोट कति शक्तिशाली थियो भने बेरुतबाट २४० किलोमिटर टाढाको टापु साइप्रससम्म महसुस गरिएको थियो। त्यति मात्रै होइन बेरुतमा विस्फोटको केही समयपछि ३.३ म्याग्निच्युडको त भूकम्प नै गएको थियो।