पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोनाको उपचार गरिएका व्यक्ति संक्रमणमुक्त
मुलुकमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट गरिएको कोरोनाभाइरस संक्रमितको उपचार सफल भएको छ। काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६० वर्षीय पुरुष संक्रमणमुक्त भएका हुन्। उनलाई आज वा भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।
एक साताअघि १५ साउनको राति उनको त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापीबाट गरिएको उपचार सफल भएको थियो। सिकिस्त बिरामी रहेका उनलाई प्लाज्मा दिएको तेस्रो दिन १८ साउनमा स्वास्थ्यमा व्यापक सुधार आएपछि उपचार सफल भएको विषय अस्पतालले सार्वजनिक गरेको थियो।
विज्ञ चिकित्सकहरुको टोलीले ट्रान्सफ्यूजन विधिबाट कोरोनाबाट निको भएका ३० वर्षीय युवाको रगतबाट प्लाज्मा निकालेर संक्रमित बिरामीलाई दिएका थिए। १० जना चिकित्सकको टोलीले प्लाज्मा बनाएको थियो।
यो पनि पढ्नुहोस्: यसरी सफल भयो कोरोना संक्रमितको पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार
स्वास्थ्यमा सुधार आएपछि ती संक्रमितलाई त्रिवि शिक्षण अस्पतालको आईसीयूबाट ग्रान्डी अस्पताल सारिएको थियो। उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका प्रा.डा. सन्तकुमार दासका अनुसार, अस्पतालको क्याबिन भरिएका कारण ग्रान्डीमा सारेर उपचार गर्नुपरेको हो।
प्लाज्मा थेरापीपछि उनको दुई पटकसम्म पीसीआर परीक्षण गरिएकोमा दुवै रिपोर्ट नेगेटिभ आएको छ। "संक्रमणमुक्त देखिएपछि उनलाई आज वा भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी छ", प्रा. डा. दासले भने।
प्लाज्मा बनाउन संलग्न ग्रान्डी अस्पतालका रक्त सञ्चार विभाग प्रमुख तथा रक्त सञ्चार विशेषज्ञ डा. विपिन नेपाल पहिलो पटक प्लाज्मा थेरापीबाट गरिएको उपचारबाट कोरोना संक्रमित निको हुनु सफलता भएको बताउँछन्। उनका अनुसार, थप सिकिस्त बिरामीको पनि उपचार गर्न प्लाज्मा बनाउने काम भइरहेको छ।
ग्रान्डीका रक्त सञ्चार विशेषज्ञ डा. नेपाल अन्य अस्पतालहरुमा पनि प्लाज्मा थेरापी बनाउने तरिकाबारे तालिम दिन आफू तयार रहेको बताएका छन्।
यो पनि पढ्नुहोस्: कोभिड–१९ को उपचारमा प्लाज्मा थेरापी कति सहयोगी ?
कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि उपयुक्त छ वा छैन भन्नेबारे विश्वभरि अनुसन्धानकै क्रममा छ। नेपालमा पनि अनुसन्धान गर्ने उद्देश्यले कोरोनाका सिकिस्त बिरामीको यो विधिबाट उपचार गरिएको हो। यसबारे अनुसन्धान नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्दै आएको छ।
अहिलेसम्म विश्वमा प्लाज्मा थेरापी विधिबाट गरिएको अनुसन्धानमध्ये ५० प्रतिशतको उपचार सफल भएको छ।