सीमानाका सील गर्दै रौतहटमा सात दिने निषेधाज्ञा जारी
कोरोना संक्रमणको जोखिम कम गर्न रौतहटमा सात दिने निषेधाज्ञा जारी गरिएको छ। २४ देखि ३२ साउनसम्म लागू हुने गरी रौतहट जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन्।
रौतहट जिल्लाका दुई छिमेकी जिल्लाहरु सर्लाहीमा पनि बुधवारदेखि लागू हुने गरी सात दिने निषेधाज्ञा जारी छ भने बारामा गत सोमवारदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा रहेको छ।
भारतसँग सिमाना जोडिएको रौतहटमा भारतको सीतामढी तथा पूर्वी चम्पारण जिल्लाबाट पनि लुकीछिपी मानिसहरु ओहोरदोहोर गरिरहेको गुनासोलाई समेत ध्यानमा राख्दै निषेधाज्ञाको समयमा छिमेकी मित्र राष्ट्रहरुबाट हुने सबै प्रकारका आवागमन पूर्ण रुपमा निषेध गरिनुका साथै सीमानाका पूर्णरुपमा सील हुने बताइएको छ।
निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक कुनै पनि मानिसलाई घरबाहिर निस्कन निषेध गरिएको छ तर स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्तिलाई भने छुट दिइएको प्रजिअ घिमिरेले जनाएका छन्।
यसै गरी एम्बुलेन्स, शववाहक, दमकल, झण्डावाल सवारी साधन, लामोदुरीका मालसामान ढुवानीका साधन, अत्यावश्यक सेवा संचालनका लागि खटिएका जनशक्तिले प्रयोग गर्ने सवारी साधन, सुरक्षा निकाय एवं प्रमुख जिल्ला अधिकारीका सवारी साधनका साथै अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारी साधन वाहेक अन्य सबै निजी, सार्वजनिक एवं सरकारी सवारीहरु संचालन गर्न निषेध गरिएको प्रजिअ घिमिरेले बताएका छन्।
निषेधाज्ञाको उल्लंघन गर्नेलाई नियमानुसार कडा कारबाही हुने प्रजिअ घिमिरेको भनाइ छ।
जिल्लामा कोरोना संक्रमण बढ्दै जाँदा लकडाउन वा निषेधाज्ञाको माग विभिन्न क्षेत्रबाट हुन थालेको परिवेशमा जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवारदेखि लागू हुने गरी सात दिने निषेधाज्ञा जारी गरेको हो।
सञ्जय मित्र, रौतहट