एफएनसीसीआई चुनाव सार्नेमा एकमत, चुनावी रणनीति बनाउन नयाँ समिति
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं बार्षिक साधारणसभासँगै हुने चुनाव सार्न कार्यसमिति बैठकले सहमति दिएको छ। यसअघि ८ साउन २०७७ मा बसेको पूर्व अध्यक्ष तथा पदाधिकारी बैठकले गरेको निर्णयलाई अस्वीकार गर्दै कार्यसमितिको बैठक माग भएको थियो।
२१ साउनमा बसेको महासंघ कार्यसमिति बैठकले यसअघि सरकारले सभा सम्मेलन खुला गरेको १५ दिनपछि चुनाव गर्ने निर्णय गरको थियो। सो निर्णयलाई कार्यसमिति बैठकले स्वीकृति दिएको र चुनावको नयाँ मिति तय गर्न ६ सदस्यीय उपसमिति गठन भएको महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए।
महासंघको बैठकले अब हुने वार्षिक साधारण सभालाई सञ्चालन गर्ने र नयाँ कार्यसमितिको निर्वाचन गर्ने मोडालिटीको अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन दिने भएको छ। यसअघि २६ र २७ साउनका लागि तय भएको निर्वाचन सार्ने निर्णय भएको थियो।
अब हुने नयाँ चुनावको मिति तय गर्ने र यसको मोडालिटी तय गर्न गठन भएको ६ सदस्यीय उपसमितिमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको तर्फबाट डीबी बस्नेत र अरुणराज सुमार्गी, वस्तुगत संघको तर्फबाट विनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ तथा एशोसिएटबाट भरत आचार्य र रञ्जित आचार्य रहेको छन्।
२९ चैत्र २०७६ भित्रै हुनुपर्ने महासंघको वार्षिक साधारणसभा र कार्यकारिणी समितिको निर्वाचन कोभिड १९ को महामारीका कारण हुन सकेको छैन्। महामारीको जोखिम बढिरहेकोले अझै कहिले साधारण सभा गर्ने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन् ।