बेरुतको विस्फोटमा नेपालीले जे देखे
वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूको गन्तव्यमध्ये एउटा हो, लेबनान। लेबनानको राजधानी बेरुतमा मात्रै २२ सयभन्दा धेरै नेपालीहरू रहेको अनुमान गरिएको छ।
त्यही बेरुतमा मंगलबार एमोनियम नाइट्रेट विष्फोट हुँदा कम्तीमा १०० को मृत्यु र ४ हजारभन्दा धेरै घाइते भएका रिपोर्टहरू सार्वजनिक भइरहेका छन्।
विष्फोट कति शक्तिशाली थियो भने बेरुतबाट २४० किलोमिटर टाढाको टापु साइप्रससम्म महसुस गरिएको थियो। त्यति मात्रै होइन बेरुतमा विस्फोटको केही समयपछि ३.३ म्याग्निच्युडको त भूकम्प नै गएको थियो।
लेबनानमा रहेका नेपालीले सामाजिक सञ्जालमा आफूहरू सुरक्षित रहेको बताएका छन्। एकजना घाइते भए पनि उनलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको उनीहरूले जानकारी दिएका छन्।
"मैले झ्यालबाट पहिलोपटक विष्फोट भएको देखेँ, जुन मलाई त्यति धेरै ठूलो लागेन। तर जब दोस्रोपटक विष्फोट भयो त्यो यति ठूलो थियो कि भवन नै भत्काउँछ जस्तो महसुस भयो," चर्चमा रहेकी सञ्जु वाइबाले विष्फोटको त्यो समयलाई स्मरण गरिन्, "केही चिज ममाथि ठोकिन्न आइपुग्यो तर म भन्न सक्दिन कि त्यतिवेला के भइरहेको थियो भनेर। त्यसपछि म ७औं तलामा ओर्लिएँ र मेरो लेबनानी साथीले मलाई अस्पताल लगिदियो।"
वाइबालाई लागेको चोट धेरै ठूलो नभएको भन्दै फार्मेसीमा पठाइदियो । जहाँ उनको पाखुरामा सामान्य ब्यान्डेज गरेर डिस्चार्ज गरिएको छ।
वाइबालाई अस्पताल लगिदिएकी नेपाली कामदार प्रमिलालाई पनि पहिलो विष्फोट त्यति ठूलो लागेको थिएन। "तर दोस्रो विष्फोटले म बसेको घर नै निकै हल्लायो," प्रमिलाले टेलिफोनमा भनिन्।
विष्फोट भएको क्षेत्र नजिकै बस्ने अर्की घरेलु कामदार रीताले पनि आफूले जीवनमा सुनेकोमध्ये सबैभन्दा ठूलो विष्फोटको त्यो आवाज रहेको बताइन्। "म अहिले पनि त्यति राम्रोसँग सुन्न सकिरहेकी छैन। मेरो हात अहिले पनि काँपिरहेका छन् । हाम्रो बस्ने घरका सबै झ्यालहरू टुटेका छन्। अर्को विष्फोट पनि हुन्छ होला भनेर हामी सबै कामदारहरू डराएका थियौं ," रीताले भनिन्।
यसै पनि लेबनान कोरोना महामारीको कारण गरिएको बन्दाबन्दीले संकट झेलिरहेको छ। यसले प्रवासी कामदारहरूलाई पनि निकै ठूलो मारमा पारेको छ। साथै त्यहाँ भइरहेका आन्दोलनहरूका कारण पनि लेबनान समस्यामा नै छ । लामो गृहयुद्ध पार गरेर आएको लेबनान राजनीतिक अस्थिरता पनि सँगसँगै लिएर हिँडिरहेको छ, जसले अर्थतन्त्र चौपट छ। प्रवासी कामदारहरू ती सबै समस्याहरू झेलिरहेका त छन् नै त्यहाँको मुद्राको मूल्यमा आएको गिरावटले उनीहरू झनै ठूलो समस्यामा परेका छन्।
लेबनानमा रहेको प्रवासी नेपालीको संगठनका अध्यक्ष अशोक थापाले भने महामारीबाट प्रभावित हुने कामदारको संख्या एकदमै थोरै रहेको बताए।
संक्रमितको संख्या बढेपछि लेबनानले गएको हप्तादेखि पुन: बन्दाबन्दी गरेको छ। तर सबै नेपालीमा त्यसको प्रभाव परेको देखिदैन। त्यहाँ काम गरेर डलरमा आम्दानी गर्नेहरू खासै समस्यामा नभए पनि स्थानीय मुद्रामा कमाइ गर्नेहरू समस्यामा परेका छन्।
घरेलु कामदारका रुपमा कार्यरत रमा भने आफूलाई भाग्यमानी ठान्छिन्। उनी आफूले काम गर्ने घरका मालिकले गरेको व्यवहार पारिवारिक रहेको बताउँछिन्। "जब मैले काम गर्ने घरका मानिसहरू आधारभूत खाद्यन्नको समेत जोहो गर्न नसक्ने बारेमा कुरा गर्छन्, म पनि नेपाल फर्कने कुरा गर्छु। तर उनीहरू मलाई नफर्किन अनुरोध गर्छन्," रमा भन्छिन्। उनी अहिले सुपरमार्केटमा पनि सीमित सामान मात्रै खरिद गर्न पाइने बताउँछिन्।
अवैध रुपमै भए पनि धेरै नेपाली महिला लेवनानमा घरेलु कामदारका रुपमा कार्यरत छन्। उनीहरूमध्ये कतिपय लामो समयदेखि नेपाल फर्किएका छैनन्। नेपाल फर्किएपछि उनीहरू पुन: लेबनान फर्किन नपाउने डरले लामो समयदेखि उतै बसिरहेका छन्। गएको वर्ष मात्रै लेबनान सरकारले काम गरिरहेका धेरै महिलालाई घरमा भेट गर्न दिएर फर्किने अनुमति दिएको थियो।