एनसेल अब पब्लिक कम्पनी, साधारण शेयर जारी गर्ने समय भने अनिश्चित
दूरसञ्चार सेवा प्रदायक एनसेल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरित भएको छ। यसअघि प्राइभेट (निजी) कम्पनीका रुपमा दर्ता एनसेलले पब्लिक लिमिटेड कम्पनीका रुपमा कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति पाएको हो।
कम्पनी ऐन २०६३ को दफा १२ ले रु.५ करोडभन्दा बढी चुक्ता पूँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता हुनपर्ने व्यवस्था गरेबमोजिम एनसेल पब्लिक लिमिटेड बनेको हो। एनसेलको चुक्ता पूँजी रु. १० करोड छ। शेयर संरचना परिवर्तनसँगै कम्पनीको नाम पनि परिवर्तन भएर एनसेल आजियाटा लिमिटेड भएको छ।
पब्लिक कम्पनीमा रुपान्तरित भएपछि एनसेलले दोस्रो बजारमा धितोपत्रको सार्वजनिक निष्कासन अर्थात् आईपीओ कहिले जारी गर्छ भनी चासोपूर्वक हेरिएको छ। एनसेलमा टेलियासोनेराको स्वामित्व रहुन्जेल यसका अधिकारीहरुले दोस्रो बजारमा शेयरको सार्वजनिक निष्कासन गर्ने बताउँदै आएका थिए। तर, एनसेलको स्वामित्व मलेशियाको कम्पनी आजियाटामा सरेपछि कम्पनीले शेयर निष्कासनको विषयमा अग्रसरता लिएको छैन।
दुई साताअघि एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ यी बिनले नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा एनसेललाई पब्लिक लिमिटेड कम्पनी बनाउनुपर्ने दायित्व भएको तर साधारण शेयर जारी गर्ने विषयमा भने कुनै प्रक्रिया अगाडि नबढेको बताएका थिए। उनले कुन वेला आईपीओ जारी गर्न उचित हुन्छ भन्ने विषयमा शेयरधनीहरुले निर्णय लिने बताएका थिए।
एनसेल स्रोतका अनुसार, कानूनी दायित्व पूरा गर्न एनसेल पब्लिक लिमिटेड कम्पनी बने पनि तत्काल साधारण शेयर जारी गर्ने सम्भावना छैन। एनसेल नेपालमा सर्वाधिक नाफा गर्ने ठूला कम्पनीमध्ये एक हो। सरकारलाई सर्वाधिक कर तिर्नेमा पनि एनसेल अग्रस्थानमा छ।
एनसेलले गएको आर्थिक वर्ष २०७६/७७ मा रु. ३३ अर्ब ९५ करोड आयकर तिरेको छ। यसमा एनसेलको स्वामित्व खरीद-बिक्री हुँदाको करीब रु. २२ अर्ब आयकर पनि जोडिएको छ। यो रकम घटाउँदा पनि एनसेलले गएको वर्षको नाफाबाट झण्डै रु. १२ अर्ब आयकर सरकारलाई बुझाएको छ।