के हो बेरुतमा विष्फोट भएको एमोनियम नाइट्रेट ?
मलको रुपमा पनि प्रयोग हुने एमोनियम नाइट्रेट अन्य धेरै कामका लागि उपयोगी हुन्छ। तर, यो विष्फोटक पदार्थ भएकाले अत्यन्त जोखिमयुक्त र घातक हुन्छ।
लेबनानको राजधानी बेरुतमा भएको विष्फोटमा परी मर्नेको संख्या ७८ पुगिसकेको छ। हजारौँ घाइते भएका जनाइएको छ। त्यहाँ एमोनियम नाइट्रेट विष्फोट हुँदा ठूलो मानवीय र धनजनको क्षति भएको हो।
एमोनियम नाइट्रेटलाई फरक तर, धेरै काममा प्रयोग गरिन्छ। सबैभन्दा बढी कृषिका लागि मल र विकास निर्माणका लागि विष्फोटक पदार्थको रुपमा प्रयोग गरिन्छ। बम बनाउन पनि यसको प्रयोग हुन्छ।
एमोनियम नाइट्रेट प्राकृतिक रुपमा पाइने अत्यधिक घुलनशील सेतो ठोस पदार्थ हो। यो सबैभन्दा ठूलो मात्रामा चिलीको अटाकामा मरुभूमिमा पाइन्छ। अचेल भने एमोनियालाई नाइट्रिक एसिडसँग मिलाएर यो कृत्रिम रुपमा नै उत्पादन गरिन्छ।
यसलाई घातक हतियारको रुपमा प्रयोग गर्न सकिने हुनाले अति खतरनाक मानिन्छ। यो आतंककारीहरुको हातबाट दुरुपयोग हुने संभावना हुन्छ। यसको भण्डारण अत्यन्तै जोखिमयुक्त छ।
यो अति प्रज्वलनशील हुने भएकाले आगोको नजिक प¥यो भने तुरुन्तै विष्फोट हुन्छ। विष्फोटपछि नाइट्रोजन अक्साइड र एमोनिया जस्ता विषालु ग्यास निस्कन सक्छ।
यसको भण्डारणका लागि निकै कडा नियमहरु पालना गर्नुपर्छ। भण्डारणस्थल आगोप्रतिरोधक हुनुपर्छ। वस्तीबाट टाढा हुनुपर्छ। त्यहाँ कुनै प्रकारको कुलो, पाइप वा अन्य च्यानल हुनुहुँदैन जसबाट ग्यास चुहिएर विष्फोटलाई मद्दत गर्न सक्छ।
तर, बेरुतमा भण्डार गरिएको एमोनियम नाइट्रेट शहरभित्रै थियो। त्यसमा सुरक्षाको गतिलो उपाय अपनाइएको थिएन। ६ वर्षदेखि ती सामग्री त्यहाँ असुरक्षित तरिकाले किन राखियो भन्ने जवाफ पनि सरकारले दिएको छैन।
एमोनियम नाइट्रेट विष्फोटन यति शक्तिशाली थियो कि २४० किलोमिटर टाढाको टापु साइप्रससम्म महसुस गरिएको थियो। त्यहाँका मान्छेले भूकम्प आएको ठानेका थिए। विष्फोटपछि बेरुतमा ३.३ म्गाग्निच्युडको भूकम्प गएको थियो।
प्रधानमन्त्री हसन दियाबले धेरै मान्छे हराइरहेको बताएका छन्। भिडियाेहरुमा पहिला धुवाँ निस्किएको र पछि ठूलो विस्फोटपछि फराकिलो क्षेत्रसम्म फैलँदै अग्ला भवनासमेत ध्वस्त पारेको देखिन्छ।
एजेन्सीहरुको सहयोगमा