बालकोट पुगेर प्रधानमन्त्रीले भने– म साढे दुई वर्षपछि घर फर्कन्छु
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निजी निवास बालकोट गएका छन्। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँंगको छलफल सकेर प्रधानमन्त्री अोली बालकोट पुगेका थिए।
पत्नी राधिका शाक्य सहित बालकोट पुगेका प्रधानमन्त्री ओलीले आफ्नो नयाँ घरमा बन्दै गरेको संग्राहलयको अवलोकन गरे। आफ्नो सम्पत्ति ट्रष्टलाई दिने घोषणा गरेका प्रधानमन्त्री ओलीको जीवनकालका बिभिन्न पक्ष समेटिएको विषय, तस्वीर, पुस्तक र दस्तावेज संग्रालयमा राखिने तयारी भएको छ।
बालकोट पुगेर प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग अब अढाइ वर्षपछि मात्रै बालकोट फर्कने बताए। आफू निकट नेताहरु गोकुल बाँस्कोटा, महेश बस्नेत लगायतसँग प्रधानमन्त्री ओलीले केहीबेर कुराकानी गरेका थिए।
“जेरी खाएर छुट्टियौँ, जेरी मीठो थियो, कहिले जेरी खुवाएर, कहिले तीतेकरेला खुवाएर कुरा गर्नुपर्छ”, प्रधानमन्त्रीले आफू निकट नेताहरुलाई भनेका थिए। त्यस अगाडि प्रधानमन्त्री ओली गएको १६ माघमा बालकोट गएका थिए।