कोरोना अपडेट: काठमाडौंसहित ६ जिल्ला 'रेड जोन' मा, देशभर ३६ जना संक्रमित आईसीयूमा
कोरोना भाइरसबाट संक्रमितको संख्या २०७५० पुगेको छ। तर, अस्पताल भर्ना भएर कोरोनामुक्त हुने व्यक्तिको संख्यासमेत उल्लेख्य रहेका कारण हालसम्म ५७३२ जना मात्रै सक्रिय संक्रमित छन्।
देशभरका ७३ जिल्लामा रहेका यी सक्रिय संक्रमित २०० जना भन्दा बढी भएका जिल्लाहरू भने ६ वटा मात्रै छन्।
संघीय राजधानी काठमाडौं (३७४ जना) सहित प्रदेश-२ का तीन जिल्ला र सुदूरपश्चिमका दुई जिल्ला २०० जना भन्दा बढी सक्रिय संक्रमित भएका 'रेड जोन' का जिल्लाहरू हुन्।
यी जिल्लाहरूमा कैलाली (६४७ जना), डोटी (२२१ जना), पर्सा (४७६ जना), रौतहट (७७० जना) र महोत्तरी (५२९ जना) छन्। मनाङ, मुस्ताङ, संखुवासभा र भोजपुर जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो सार्वजनिक गरेको 'स्थिति प्रतिवेदन' अनुसार १६ वटा जिल्लामा ५१ देखि २०० जनासम्म संक्रमित छन् भने ५० जना भन्दा कम संक्रमित भएका जिल्ला ५१ वटा छन्।
पछिल्लो २४ घण्टामा सात हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण परीक्षण गरिएको छ। जसमध्ये ४१८ जनामा संक्रमण पाइयो।
यो अवधिमा ३५८ जना निको भए भने कसैको पनि मृत्यु भएन। ३ जेठमा नेपालमा कोभिड- १९ बाट पहिलो मृत्यु भएयताको साढे दुई महीनामा मृतकको संख्या ५७ पुगेको छ।
देशभर ३६ जना संक्रमितहरू आईसीयूमा छन्। सबैभन्दा बढी बाग्मती प्रदेशमा २२ जनालाई आईसीयूमा राखिएको छ भने त्यसपछि प्रदेश २ मा सात र प्रदेश १ मा चार जना छन्। गण्डकी प्रदेशमा कोही पनि आईसीयूमा छैनन् भने प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक जनालाई आईसीयूमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संक्रमित र मृतकको संख्याका हिसाबले नेपाल दक्षिण एशियामा पाँचौ नम्बरमा छ। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आवद्ध आठ देशमध्ये भुटान, श्रीलंका र माल्दिभ्समा संक्रमित र मृतकको संख्या नेपालमा भन्दा कम छ।
भुटानमा हालसम्म कसैको मृत्यु भएको छैन भने १०१ जना संक्रमित भएकोमा ८८ जना निको भएकाले सक्रिय संक्रमितको संख्या १३ मात्रै छ। विश्वव्यापी रूपमा संक्रमितको संख्याका आधारमा नेपाल ६५औं स्थानमा छ भने मृतकको संख्याका आधारमा ११४औं स्थानमा।