समाचार आइतबार, साउन १८, २०७७

आइतबार थप २४६ जनामा संक्रमण पुष्टि, १११ डिस्चार्ज

हिमालखबर

आइतबार थप २४६ जनामा संक्रमण पुष्टि, १११ डिस्चार्ज

आइतबार थप २४६ जनामा संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा आठ हजार ८६१ जनामा पीसीआर परीक्षण गर्दा २४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सबैभन्दा बढी पर्सामा संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा परी पर्साका मात्रै ८१ जनामा संक्रमण देखिएको छ। राजधानी उपत्यकामा थप ३१ जनामा संक्रमण देखिएको छ। काठमाडौंका २२, ललितपुरका आठ र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो।

यो सहित नेपालमा संक्रमित संख्या २० हजार ३३२ पुगेको छ। आइतबार ११ जना डिस्चार्ज भएका छन्। मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी आइतबार सहित १४ हजार ६०३ जना निको भएर घर फर्किएको जनाएको छ। अर्थात्, संक्रमित मध्ये ७१.८ प्रतिशत निको भएर घर फर्किसकेका छन्।

अहिले देशभर पाँच हजार ६७२ जना संक्रमितको उपचार भइरहेको छ। प्रदेश १ मा २५१, प्रदेश २ मा दुई हजार १७६, वागमती प्रदेशमा ६०६, गण्डकी प्रदेशमा २८७, प्रदेश ५ मा ३९६, कर्णाली प्रदेशमा २९३ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६६४ जना उपचारत छन्।

आइतबार थप एक जनाको मृत्यु भएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–१६ का ६८ वर्षीय महिलाको संक्रमणबाट मृत्यु भएको हो। १४ साउनदेखि ज्वरो खोकी देखिएकी महिलाको १६ साउनमा संक्रमण पुष्टि भएको थियो। उनको १७ साउनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यो सहित नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ। मन्त्रालयले काठमाडौं प्रवेश गर्ने नाकाहरु साँगा, नागढुंगा र फर्पिङबाट दश हजार ८२७ जनाको स्वाब परीक्षण गरिएको जनाएको छ। उनीहरुको रिपोर्ट भने आएको छैन।

प्रतिकृया दिनुहोस