समाचार आइतबार, साउन १८, २०७७

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना अध्ययन गर्न समिति गठन

हिमालखबर

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना अध्ययन गर्न समिति गठन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाबारे अध्ययन गर्न समिति गठन गरेको छ। स्थानीयले गुरुयोजनाको विरोध गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समिति गठन गरेका हुन्।

मन्त्रालयका संस्कृति महाशाखा प्रमुख, योजना र प्रशासन महाशाखा प्रमुख र पुरातत्व विभागका महानिर्देशक सम्मिलित समिति गठन भएको मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले बताए। उनले भने “गुरुयोजनाबारे स्थानीयबाट गुनासा आएपछि यसमा बृहत छलफल तथा पृष्टपोषण लिनुपर्ने भएपछि समिति गठन गरेका छौं।”

समितिले एक महिनाभित्र विभिन्न सरोकारवाला, सम्बन्धित क्षेत्रका विज्ञ एवं इतिहासविद् र संस्कृतिविद्हरु र स्थानीयसँग वृहत छलफल र अध्ययन पृष्टपोषण लिएर प्रतिवेदन बुझाउनुपर्ने छ।

गत १९ पुसमा बसेको कोषको बैठकले पारित गरेको गुरुयोजनामा पशुपति क्षेत्रभित्रका पुराना बस्तीहरु उठाउने योजना समेटिएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन्।

संघर्ष समितिका पदाधिकारीहरुले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने, गुरुयोजना खारेज गर्नुपर्ने र नयाँ गुरुयोजना तयार पार्दा स्थानीयलाई सहभागी गराउनुपर्ने माग राखेका छन्।

प्रतिकृया दिनुहोस