समाचार आइतबार, साउन १८, २०७७

कोभिड-१९ बाट हुने मृत्युदर बन्दाबन्दी खुलेपछि दोब्बरले बढ्यो (हेर्नुहोस् इन्फोग्राफिकमा)

हिमालखबर

कोभिड-१९ बाट हुने मृत्युदर बन्दाबन्दी खुलेपछि दोब्बरले बढ्यो (हेर्नुहोस् इन्फोग्राफिकमा)

नेपालमा कोभिड–१९ का कारण भएको मृत्युदर बन्दाबन्दी खुलेपछि दोब्बरले बढेको छ।

९ माघ २०७६ मा पहिलो संक्रमित भेटिएको झण्डै चार महीनापछि नेपालमा कोभिड– १९ का कारण पहिलो मृत्यु भएको थियो। काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भएकी सिन्धुपाल्चोककी महिलाले कोरोना संक्रमणका कारण धुलिखेलस्थित अस्पतालमा ज्यान गुमाएकी थिइन्।

त्यसयता जेठ र असार महीनामा औसतमा १९ जनाले कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाए। कोरोना संक्रमणको महामारीसँग लड्न सरकारले गरेको बन्दाबन्दी साउन पहिलो साता हटाइयो। बन्दाबन्दी हटाइएयता कोरोना संक्रमणबाट हुने मृत्युदर दोब्बरले बढेको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन जारी गर्ने ‘स्थिति प्रतिवेदन’को तथ्यांक केलाउँदा पहिलो मृत्युपछिका दुई महीनामा औसतमा १९ जनाको मृत्यु भएकोमा बन्दाबन्दी खुलेपछिका १२ दिनमै १७ जनाको मृत्यु भएको देखिन्छ ।

पहिलो मृत्यु हुँदा ३ जेठमा देशभर २७८ जना संक्रमित थिए। जेठ महीनाको अन्तिम दिन, ३२ जेठसम्म १९ जनाको मृत्यु भएको थियो। उक्त अवधिमा संक्रमितको संख्या पाँच हजार ७६० पुगेको थियो।

त्यसपछिको एक महीनामा अर्थात असार मसान्तसम्म थप २० जनाले कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाए। ३१ असारमा मृतकको संख्या ३९ पुग्दा संक्रमित १७ हजार १७७ जना पुगेका थिए।

त्यसपछि २ साउनमा थप एक जनाको मृत्यु भयो र मृतक संख्या ४० पुग्यो। संक्रमित १७ हजार ४४५ जना पुगे।

कोरोनाभाइरसको विस्तार रोक्न भन्दै सरकारले ११ चैतदेखि देशव्यापी रुपमा गरेको बन्दाबन्दी ६ साउनदेखि हटाउने निर्णय गर्‍यो। त्यतिञ्जेलको चार महीनाको अवधिमा नेपालमा ४० जनाले ज्यान गुमाए भने १७ हजार भन्दा बढी संक्रमित भएका थिए।

त्यसपछि परीक्षणको दर केही घटाएका कारण संक्रमितको संख्या पहिलेको तुलनामा बढेको देखिएको छैन, तर कोभिड–१९ का कारण भएको मृत्युदर भने ह्वात्तै बढको छ।

७ साउनमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भयो। त्यसपछि ११, १४ र १७ साउन गरी तीन दिनमा मात्रै कोभिड–१९ बाट मृत्यु भएको देखिएको छैन। यी तीन दिन छाडेर हरेक दिन मृतक थपिएका छन्। आइतबार, १८ साउनसम्ममा मृतकको संख्या ५७ पुगिसकेको छ। ६ साउनपछिका १२ दिनमा नै १७ जनाको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस