समाचार आइतबार, साउन १८, २०७७

गण्डकी प्रदेश सरकारले दियो प्रदेश प्रहरीलाई ४ वटा भ्यान र २८ वटा मोटरसाइकल

हिमालखबर

गण्डकी प्रदेश सरकारले दियो प्रदेश प्रहरीलाई ४ वटा भ्यान र २८ वटा मोटरसाइकल

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूका लागि उपलब्ध गराइएका सवारी साधन हस्तान्तरण गरेको छ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई आज एक समारोहकाबीच चाबि हस्तान्तरण गरेका हुन्।

प्रदेश सरकारले प्रदेश प्रहरीलाई टाटा पिकअप भ्यान ४ थान र मोटरसाइकल २८ थान (पल्सर १८, टीभीएस अपाचे ५ र बुलेट ५ थान) हस्तान्तरण गरेको छ।

गुरुङले शान्ति सुरक्षालगायत अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यलयहरुबाट उल्लेखनीय कार्य भईरहेको भन्दै हस्तान्तरण गरिएका सवारी साधनहरुले प्रहरी काम कारवाहीमा चुष्तता प्रदान गर्ने र प्रहरी कर्मचारीहरुको मनोबल समेत बृद्धि हुनेमा विश्वास व्यक्त गरे।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायत गण्डकी प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै हस्तान्तरण गरिएका सवारी साधनहरुले गण्डकी प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो संवेदनशिल जिम्मेवारी वहन गर्दै पारदर्शीता, जवाफदेहिता र व्यावसायिक निष्ठापूर्वक कार्य सम्पादन गर्ने जस्ता प्रहरी कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे।

साथै संगठनका तमाम समस्या र चुनौतीहरुलाई परास्त गर्न जिम्मेवारीको बोध, व्यावसायिक सामर्थ्य र जवाफदेहिताको कानूनी र नैतिक साहस आवश्यक भएको बताउँदै उपलब्ध जनशक्ति तथा साधन श्रोतको उचित एवं प्रभावकारी ढँगबाट अधिकतम परिचालन गर्दै उच्च व्यवसायीक नैतिकता तथा पारदर्शी रुपमा समयानुकुल सेवा प्रदान गर्न हरपल क्रियाशिल रहेको बताए।

प्रतिकृया दिनुहोस